चेल्सी एफ ए कपको फाइनलमा, उपाधिकाे लागि आर्सनलसँग भिड्ने

 एफ ए कप फुटबलको उपाधिकाे लागि चेल्सी र आर्सनल भिड्ने भएका छन्।  

आइतबार राति भएकाे सेमिफाइनलको खेलमा म्यान्चेष्टर युनाइटेडलाई १–३ गोल अन्तरले हराउँदै चेल्सी फाइनलमा पुगेकाे हाे।

वेम्बली स्टेडियममा चेल्सीलाई जित दिलाउन ओलिभर जिरुड र मासन माउन्टले एक/एक गोल गरे । 

युनाइटेडका कप्तान ह्यारी मग्वाएरले एक आत्मघाती गोल गर्दा ब्रुनो फर्नान्डेसले एक गोल फर्काए ।

पहिलो हाफको इन्जुरी समयमा जिरुडले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए।

यता दाेस्राे हाफकाे सुरुवातमै माउन्टले गोल गर्दै चेल्सीलाई २-० को अग्रता दिलाए।

७४ औं मिनेटमा युनाइटेडका मग्वाएरले आत्मघाती गोल गर्दा चेल्सीले ३-० को अग्रता बनायो।

त्यसपछि खेलको ८६ औं मिनेटमा फर्नान्डेसले पेनाल्टीमा एक गोल फर्काएपनि चेल्सी ३-१ ले विजयी भयो।

अब चेल्सीले उपाधिका लागि अगष्ट १ मा आर्सनलसँग खेल्नेछ । आर्सनल म्यानचेस्टर सिटीलाई २-० ले हराएर फाइनल पुगिसकेको छ ।

स्मरण रहाेस् आर्सनलले कीर्तिमानी १३ पटक एफ ए कप फुटबलको उपाधि उचालेकाे छ।

प्रकाशित मिति: : 2020-07-20 00:59:52

प्रतिकृया दिनुहोस्