रामकुमारको लोकसेवा यात्रा : अनपेक्षित सहसचिव !

अनलाइनखबर

काठमाडाैं

०७६ असोजमा नेपाल सरकार सहसचिवको आवेदन खुल्दा रामकुमार महतो उपसचिवको तयारीमा केन्द्रित थिए । तीन/तीन पटक उपसचिवको परीक्षामा हार बेहोर्नुपरे पनि उनको हिम्मतले हरेस खाएन । बरु हिम्मतको पारो झन् बढाएर मेहनतको आयतनलाई दोब्बर बनाए । किनकि रामकुमारको एउटै ध्येय थियो– उपसचिव बन्ने ।

महतोले तीनवटा विषयमा स्नातकोत्तर गरिसकेका थिए । शाखा अधिकृतको जिम्मेवारी सम्हालेको पनि आठ वर्ष पुगिसकेको थियो । यसर्थ, उनी सहसचिवको पनि योग्य उमेद्वार थिए । त्यसैले, गत २, ३ र ४ पुसमा पहिलो पटक सहसचिवको परीक्षा हलमा प्रवेश गरे ।

त्यतिबेला रामकुमार शैलुङ गाउँपालिका, दोलखाको प्रशासकीय अधिकृतको भूमिका सम्हालिरहेका थिए । ‘सहसचिव हुने मेरो लक्ष्य नै थिएन । हुन्छु भनेर आश पनि गरेको थिइनँ’, रामकुमार भन्छन्, ‘शाखा अधिकृत भएकाले अहिलेलाई उपसचिव भए पुगिहाल्थ्यो ।’

सहसचिवको परीक्षा दिएलगत्तै उनी उपसचिवको परीक्षा हलमा प्रवेश गरे । उपसचिवमा यो उनको चौथोपटकको परीक्षा थियो । तर, रिजल्ट सहसचिवको पहिला आयो । लोकसेवाले सिफारिस गर्ने १० जना सहसचिवको लिस्टमा रामकुमारको पनि नाम निस्कियो ।

यो नतिजा रामकुमार स्वयंका लागि अप्रत्यासित थियो । तर, उनको समुदायका लागि भने गर्वको विषय थियो । किनकि कुसवाह (महतो) समुदायका लागि सहसचिव त परको कुरा अधिकृतसमेत रामकुमार पहिलो थिए ।

 

प्रकाशित मिति: : 2020-07-20 15:24:21

प्रतिकृया दिनुहोस्