अष्ट्रेलियामा हुन लागेकाे टि२० विश्वकप स्थगित, आइपिएल यूएईमा हुने निश्चित

एजेन्सी

काठमाडाैं

आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकप स्थगित भएको छ। विश्वभर फैलिएको कोरोना भाइरसको महामारीको कारण विश्वकप स्थगित भएको हाे।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)काे सोमबार बसेको बैठकले विश्वकप एक वर्षको लागि सरेको जनाएको छ। 

अब टि२० विश्वकप २०२१ अक्टोबर नोभेम्बरमा हुने आइसिसीले जनाएको छ। यता आइसिसी एक दिवसिय विश्वकप २०२३ अक्टोबर नोभेम्बरमा गर्ने भएको छ। 

यसअघि एकदिवसीय विश्वकप फ्रेब्रुअरी ९ देखि २६ मार्चसम्म भारतमा हुने तय थियो।

त्यस्तै २०२१ मा भारतमा हुने भनिएको टि२० विश्वकप २०२२ मा अक्टोबर नोभेम्बरमा हुने छ। नेपाल भने यो वर्ष हुने टि२० विश्वकपमा एसिया छनोटबाटै बाहिरिएको थियो। 

नेपालले सिधै ग्लोबल छनोट क्वालिफायरमा मौका पाएको थियो। अब नेपालले सन् २०२२ सम्म सरेको प्रतियोगिताको लागि छनोट खेल्नेछ।

विश्वकप सरेसँगै भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआई)लाई १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) गर्न बाटो खुलेको छ। 

बिसिसिआईले विश्वकप सरेमा यो वर्ष आइपिएल हुने बताउँदै आएको थियो।

टि२० विश्वकप र सेप्टेम्बरमा पाकिस्तानमा हुने तय भएको एसिया कप टि२० प्रतियोगिता सरेसँगै यो वर्ष आइपिएल हुने लगभग निश्चित भएको हाे। 

आइपिएल युएईमा गर्ने बिसिसिआईको तयारी छ।

प्रकाशित मिति: : 2020-07-21 06:14:07

प्रतिकृया दिनुहोस्