कोरोना नियन्त्रणका लागि विशेष रणनीति निर्माण गर्न देउवाले दिए प्रधानमन्त्रीलाई सुझाव

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरस सामना र नियन्त्रण गर्नका लागि  विशेष रणनीति निर्माण गर्न सरकारलाई सुझाव दिएका छन्।

देउवाले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर संक्रमण बढिरहेको भन्दै नयाँ रणनीति बनाएर काम गर्न सुझाव दिएका हुन्।

 पीसीआर विधिबाट मात्रै कोरोना परीक्षण गर्न आग्रह गर्दै अहिले पनि क्वारेन्टाइनहरु मापदण्डअनुसार बनाउन सरकारले ध्यान नदिएको भन्दै उनले आपत्तिसमेत जनाए।

उनले कोरोनाको मारमा परेका विभिन्न क्षेत्रका असन्तुष्टि र आन्दोलनबाट अघि सारिएका मागलाई समेत गम्भीरतापूर्वक लिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्।

यस्तै विदेशमा अप्ठेरोमा परेका नेपाली नागरिकको उद्धारलाई पनि तीव्रता दिन पनि सभापति देउवाले आग्रह गरेका छन्।

साथै, अविरल वर्षासँगै बाढी पहिरोको प्रकोपमा परी ठूलो जनधनको क्षति भएकोले उद्धार, राहत र विस्थापितको पुनर्स्थापनाको काम तीव्र गतिमा गर्न उनले सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रकाशित मिति: : 2020-07-23 14:23:29

प्रतिकृया दिनुहोस्