सर्वोच्चको चित्त : जन्मकैद गर्दा चर्को पर्न जाने हो कि !

अनलाइनखबर

काठमाडाैं

८ साउन, काठमाडौं । श्रीमती हत्यामा अदालतबाट दोषी ठहर भई ८ वर्ष ६ महिना जेल बसेका सशस्त्र प्रहरी बलका पूर्वडीआईजी रञ्जनकुमार कोइराला बिहीबार रिहा भएकै दिन उनीविरुद्ध सरकार न्यायिक पुनरावलोकनमा गएको छ ।

सर्वस्वसहित जन्मकैदको सजाय तोकिएका व्यक्तिको आधाभन्दा बढी सजाय घटाएको भन्दै महान्यायाधिवक्ता कार्यालयले पुनरावलोकनमा जाने निर्णय गरेको हो । 

नौ वर्षअघि पत्नीको हत्या गरेर सर्वस्वसहित जन्म कैदको सजाय भोगिरहेका कोइरालालाई सर्वोच्च अदालतले गत असार १५ मा सर्वस्वहरणको सजायँ घटाइदियो । साथै, सर्वोच्चले ‘जन्मकैदको सजायँ गर्दा चर्को पर्न जाने हो कि भन्ने चित्तमा लागेको हुँदा’ त्यो सजायँ पनि घटायो र जेलमुक्त गर्ने ‘विवादास्पद’ फैसला सुनायो ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले गरेको फैसलाबारे भइरहेको विवाद र टीकाटिप्पणीबारे चर्चा गर्नुभन्दा पहिला कोइराला जोडिएको अपराधतिर फर्कौं :

२०५० सालमा विवाह गरेका पूर्वडीआईजी कोइराला र गीता ढकालका दुई छोरा छन् । २०६८ पुसमा गीताको हत्या हुँदा जेठो १४ र कान्छो ११ वर्षका थिए । अहिले दुबै छोराहरु वाल्यावस्था पार गरेर वयस्क भइसकेका छन् ।

रञ्जनले २०६८ पुस २७ गते बूढानीलकण्ठस्थित निवासमै गीताको हत्या गरेर भोलिपल्ट मकवानपुर जिल्लाको साविक टिस्टुङ्ग गाविस– ८, मेत्राङ्ग पुर्‍याई शव जलाएको ठहर जिल्ला अदालत काठमाडौंले ०७१ साल बैशाख ७ गते गरेको थियो । र, जिल्ला अदालतको यही फैसलालाई तत्कालिन पुनरावेदन अदालत पाटनले ०७२ साल मंसिर २३ गते सदर गरेको थियो ।

प्रकाशित मिति: : 2020-07-23 22:01:45

प्रतिकृया दिनुहोस्