अमेरिकामा १५ अगस्टसम्म १ लाख ६४ हजारको निधन हुन सक्ने आशंका

एजेन्सी

वासिङ्टन

केन्द्रीय रोगथाम तथा नियन्त्रण विभाग (सीडीसी) ले दिएको रिपोर्टअनुसार यही अगस्टको १५ तारिखसम्ममा अमेरिकामा कोरोना भाइरसले १ लाख ६४ हजार ४ सय ७७ संक्रमितको निधन हुन सक्ने आशंका व्यक्त गरेको छ। 

सीडीसीले यो संख्या १ लाख ५८ हजार ४ सय ९० बाट सुरु भएर १ लाख ७३ हजार ४ सय ३१ को बीचमा पुग्न सक्ने अनुमान गरेको हो। 

न्युज एजेन्सी रोयटर्सका अनुसार अमेरिकामा संक्रमणको दर अन्य देशको तुलनामा अत्याधिक छ। यहाँ हरेक घण्टा २६ सय नयाँ संक्रमित देखा पर्न थालेका छन्। पछिल्लो १६ दिनको हिसाब गर्दा प्रत्येक मिनेट ४३ नयाँ संक्रमित देखिएका छन्। 

अमेरिकामा गत बुधबार दोस्रो दिन ७१ हजार बढी संक्रमित फेला परेका थिए। पछिल्लो २४ घण्टामा ११ सय ९५ मानिसको निधन भएको छ। 

हालसम्म अमेरिकामा ४१ लाख ६९ हजार ९ सय ९१ संक्रमित फेला परिसकेका छन्, जसमा १ लाख ४७ हजार ३ सय ३३ जनाको निधन भइसकेको छ। यसमा १९ लाख ८० हजारको हाराहारीमा संक्रमित ठिक भएको कारण पनि सीडीसीले यस्तो आशंका जनाएको हो।

प्रकाशित मिति: : 2020-07-24 09:40:43

प्रतिकृया दिनुहोस्