एसिड आक्रमणमा परेकी कार्कीलाई स्वास्थ्यमन्त्रीले भने– उपचारमा सरकारले सहयोग गर्छ

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले एसिड आक्रमणमा परेकी ओखलढुंगाकी पवित्रा कार्कीको उपचारमा सरकारले सघाउने प्रतिवद्धता व्यक्त गरेका छन्।

आइतबार घाइते युवतीको स्वास्थ्य अवस्थाबारे बुझ्न कीर्तिपुर अस्पतालमा पुगेका मन्त्री ढकालले भने ‘तपाईंको उपचारमा सरकारका तर्फबाट सक्दो सहयोग हुन्छ। घटनामा संलग्नलाई हदैसम्मको कारवाही हुन्छ।’

मन्त्री ढकालले पीडितका आफन्त तथा चिकित्सकसित उपचारबारे जानकारी लिएका थिए। काठमाडौंको सीतापाइलामा बस्दै आएकी ओखलढुङ्गाकी २२ वर्षीया युवतीलाई बिहीबार साँझ एसिड आक्रमण भएकाे थियाे। 

लगत्तै अभियुक्तद्वय भारतको विहार घर भई डल्लु बस्दै आएका फैयाज आलम र रौतहट लक्ष्मीपुर–४ का मोहम्मद आलमलाई प्रहरीले बिहीबार राति डल्लुबाट पक्राउ गरेकाे थियाे।

 प्रहरीका अनुसार पीडित युवती करीव ३ वर्षअघि आलमकै कारखानामा काम गर्थिन्। त्यो भन्दा पहिले उक्त कारखानामा पीडित युवतीको दिदी काम गर्थिन्, बहिनी बेरोजगार भएपछि दिदीकै माध्यमबाट ती युवती आलमको कारखानामा काम गर्न थालेकी थिइन्।

कारखानामा काम गर्न थालेको एक महिनापछि युवतीले काठमाडौंकै पाँच तारे होटल हायातमा काम पाएकाले आलमको कारखाना छाडिन्। 

अनुसन्धान अधिकारीका अनुसार करीव ३ महिनादेखि पीडित युवतीले आलमको फोन उठाएकी थिइनन्। आलमले एकैदिन २९ पटकसम्म फोन गरेको थिए। यति गर्दा पनि युवतीले फोन नउठाएपछि उनले एक सातादेखि युवतीमाथि एसिड हान्ने योजना बनाएका थिए।

युवतीमाथि एसिड हान्ने योजना पुरा भएपछि बिहीबार आलमले निकै कर गरेर युवतीलाई सितापाईला चोक बोलाएका थिए। अतिनै गरेपछि ती युवती पनि आलमलाई भेट्न गएकी थिइन्।

करीव ३० मिनेटको भेटघाटपछि युवती घर फर्किइन र फर्कदै गरेका बेला आलमले आफ्नो कारखानामा काम गर्ने मजदुरमार्फत एसिड प्रहार गरेका थिए। 

उनीहरुलाई प्रहरी उनीहरुलाई कल डिटेल र सिसी क्यामराको सहायताले पक्राउ गरेकाे थियाे।

एसिड प्रहारबाट युवतीको अनुहारको दायाँपट्टिको भाग जलेको छ।
 

प्रकाशित मिति: : 2020-07-26 17:00:23

प्रतिकृया दिनुहोस्