चन्द्रनिगाहपुरमा महिला टेक्निकल सेन्टर बनाउने कुरामा कुनै विवाद छैनः एन्फा अध्यक्ष शेर्पा (भिडियो)

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपाली महिला फुटबलको भविष्य उज्जवल भएको दावी गरेका छन्। 

कोरोनाबाट विश्व खेल जगत प्रभावित भएको बेला नेपालमा पनि खेलकुदको गतिविधि यति बेला ठप्प छ। यस्तो बेला पुनः खेलकुदलाई ‘ट्रयाक’ मा ल्याउने जिम्मेवारी खेलसँग सम्बन्धित निकायको रहेको बेला अध्यक्ष शेर्पाले नेपाली फुटबलले निकट भविष्यमा काँचुली फेर्ने दावी गरेका हुन्। 

बिएल नेपाली सेवासँग कुराकानी गर्दै शेर्पाले फुटबलमा पछिल्लो समय देखिएको विभिन्न विवादलाई एक–एक गर्दै प्रष्टीकरण दिन खोजेका छन्। ‘चेन्ज फुटबल’ को नारा दिँदै २० वर्ष लामो गणेश थापाको भ्रष्ट नेतृत्वलाई विस्तापित गरेका शेर्पाविरूद्ध पनि आर्थिक आचार संहित पालना नगरेको आरोप लगाउनेको कमि छैन। 

यस विषयमा उनले बिएल नेपाली सेवासँग पहिलो पल्ट खुलेर कुरा गरेका छन्। उनको अन्तर्वार्तालाई बिएल नेपाली सेवाले शृंखलाको रूपमा प्रस्तुत गर्दैछ। उनीमाथि लागेको सबैभन्दा ठूलो आरोप भनेको रौतहटको चन्द्र निगाहपुरमा बन्न लागेको महिला टेक्निकल सेन्टरको विषय हो। उनले सम्बन्धित निकायको स्विकृति बेगर टेक्निकल सेन्टर निर्माण गर्न लागे आरोप लाग्ने गरेको छ। 

यस विषयमा कुनै विवाद नभएको र बाहिरका व्यक्तिहरूले राम्रो काम गर्न नदिन विभिन्न प्रोपगण्डा सुरु गरेको उनले दावी गरेका छन्। 

उनले टेक्निकल सेन्टर निर्माणका लागि हात्तिमालो वन उपभोक्ता समितिबाट प्राप्त जमिनको विषयमा वन कार्यालयले कुनै विवाद ननिकालेको र स्थानीय निकायसँग मिलेर काम भइरहेको बताए। 

‘नेपाली फुटबलमा यो पहिलो प्रोजेक्ट हुनुपर्छ, जुन आईइइ गरेर बन्न लागेको छ। नगरपालिकाबाट नक्सा पास भइसकेको छ। प्रोजेक्टको इन्सुरेन्स पनि गरिएको छ। प्रक्रिया नपुगेको भए बिजुली जडान पनि हुदैनथ्यो। न इन्सुरेन्स नै,’ उनले बिएल नेपाली सेवालाई स्पष्टीकरण दिँदै भने। 

उनले अन्तर्वार्ताको क्रममा स्थानीय निकाय, स्थानीय व्यक्ति तथा संघसंस्थाको विरोध मात्र होइन, सानो आवाज पनि नआएको प्रष्ट पार्न खोजे। 
रौतहटमै महिला टेक्निकल सेन्टर निर्माण गर्नुको कारण स्पष्ट पार्दै उनले भने, ‘अहिलेसम्म भएको महिला टिम, उमेर समूह र क्लब स्तरीय खेलमा यो क्षेत्रबाट प्रतिनिधित्व गर्ने महिला खेलाडीको संख्या उच्च छ। 

महिला फुटबलको विकाशका लागि मात्र होइन, महिला सशक्तिकरणका लागि पनि हामीले यहाँ नमुना प्रोजेक्ट निर्माण गर्नुपर्ने आवश्यकता थियो,’ उनले भने। 

उनले देशभरि छरिएर रहेका महिला खेलाडीलाई प्रशिक्षण दिन र राष्ट्रिय तथा समूह चरणका खेलाडी उत्पादन गर्न टेक्निकल सेन्टरले योगदान पुर्‍याउने बताए। 

पछिल्लो दुई वर्षको दौरान नेपाली महिला टिम ओलम्पिकको दोस्रो चरणमा प्रवेश गरेको, एएफसी उमेर समूहमा पनि दोस्रो चरणमा समावेश भएको, भारत र इरान जस्ता बलिया राष्ट्रलाई हराउन सफल भएको तथा थाइल्याण्ड र म्यानमार जस्ता देशसँग बराबरीमा खेलेको कारण पनि टेक्निकल सेन्टरको आवश्यकता भएको उनले दोहर्‍याए। 

‘अहिले हामी १ सय ७ फिफा वरियताबाट ९७ मा उक्लिएका छौं। पूर्वी एसियामा सशक्त टिमको परिचय बनाएका छौं। त्यसैले महिला फुटबलको भविष्य उज्जल छ भन्ने मलाई लाग्छ,’ उनले बताए। 

उनले फिफाको ६ महिनासम्म खेलाउनु पर्ने र ९१ भन्दा माथि खेल खेलाउनु पर्ने नीतिलाई आफूले लागु गरिरहेको बताए। 

प्रकाशित मिति: : 2020-07-27 15:40:00

प्रतिकृया दिनुहोस्