मन्त्रिपरिषदले निर्णय गरेको १५ दिन बित्यो, संस्कृति मन्त्रालयले उडान कार्यविधि बनाउन सकेन

नेपाल खबर

काठमाडौं

उडानको मिति नजिकिए पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उडान कार्यविधि अझै बनाउनसकेको छैन।

मन्त्रिपरिषदले निर्णय गरेको १५ दिन बितिसक्दा पनि मन्त्रालयले कार्यविधि बनाउन नसकेको हो।

साउन ५ गते बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय र आन्तरिक उडान गर्ने निर्णय गरेको थियो। तर मन्त्रालयले साउन १९ गतेसम्म कार्यविधि अझै तयार नभएको बताएको छ।

‘मन्त्रालय कार्यविधि बनाउने तयारीमै जुटेको छ’, मन्त्रालयका प्रवक्ता कमल प्रसाद भट्टराईले भने, ‘४–५ दिनमा कार्यविधि बनिसक्ला।’

उनले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान करिब एक चौथाइ मात्रै हुने गरी छलफल भइरहेको जानकारी दिए।

‘अन्तर्राष्ट्रिय उडान २५ प्रतिशत र आन्तरिक उडान ३० प्रतिशतसम्म गर्ने तयारी भइरहेको छ’, उनले भने।

मन्त्रालयले कार्यविधि बनाउने जिम्मा मन्त्रालयका सहसचिव बुद्धि सागर लामिछानेलाई दिएको छ।

प्रकाशित मिति: : 2020-08-03 18:19:50

प्रतिकृया दिनुहोस्