भ्रष्टाचारको आरोप लागेपछि स्पेनका पूर्व राजाद्वारा देश छाड्ने निर्णय

स्पेनका पूर्व राजा ख्वान कार्लोसले देश छोड्ने निर्णय गरेका छन्।  स्पेनिस राजदरबारले जनाए अनुसार उनले यससम्बन्धि जानकारी आफ्ना छोरालाई गराइसकेका छन्।

केही हप्ताअघि शुरु गरिएको भ्रष्टाचार अभियोगको अनुसन्धानमा तानिएपछि ८२ वर्षीय पूर्व राजा ख्वान कार्लोसले देशै छोड्ने निर्णय गरेको अनुमान गरिएको छ ।

पूर्व राजा कार्लोसले पत्र लेखेर देश छोड्ने सम्बन्धि जानकारी छोरा फेलिपेलाई गराउन भएको हो । छोरा फेलिपेलाई ६ वर्षअघि ख्वानले सत्ता हस्तान्तरण गरेका थिए।

साथै पूर्व राजा ख्वानले भ्रष्टाचारबारे अनुसन्धान गरिरहेका अधिकारीहरुले अन्तर्वार्ता गर्न चाहेमा आफू उपलब्ध रहेको पनि प्रष्ट गरेका छन्।

स्पेनको सर्वोच्च अदालतले गत जुनमा साउदी अरेबियामा तीव्र गतिको रेल बनाउने सम्झौतामा पूर्व राजा ख्वानको संलग्नता रहेका बारेमा अनुसन्धान थालेको थियो ।

देश छाड्ने निर्णय गरेका पूर्व राजा कुन देशमा बस्न जानेछन् भन्ने त यकिन भैसकेको छैन तर अब उनी देशभित्र भने नरहेने प्रष्ट भएको स्पेनिस सञ्चारमाध्यमहरुले जनाएका छन्।

प्रकाशित मिति: : 2020-08-04 08:28:30

प्रतिकृया दिनुहोस्