प्रधानमन्त्रीलाई विज्ञहरुकाे सुझाव: आवश्यक परे २१ दिनसम्म कर्फ्यू लगाऔँ

जनस्वास्थ्य क्षेत्रका विज्ञहरूले कोरोना भाइरसको प्रकोप बढ्दै गएकाले आवश्यक परे २१ दिन ताेकेर कर्फ्यू लगाउन सरकारलाई सुझाव दिएका छन्।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको विज्ञहरूको छलफलमा यस्तो सुझाव आएकाे उनका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए। 

‘छलफलमा विज्ञहरूबाट लकडाउन कडाइ गर्ने र २१ दिन तोकेर कर्फ्यू लगाउने वा संक्रमण बढेका स्थानमा सिल गर्ने र नागरिक उत्तरदायित्व बढाउने जस्ता मिश्रित सुझावहरू प्राप्त भएका छन्,’ उनले भने। 

वीरगञ्ज काठमाडौं लगायतका ठाउँहरूमा कोरोना भाइरसको प्रकोप बढ्दै गएको छलफलमा सहभागी धेरै विज्ञहरूले लकडाउन नगरेमा थप भयावह हुन सक्ने चेतावनी दिएकाे उनले बताए। 

यस्तै उनले अस्पतालमा पूर्वाधार बढाउन आइसीयू र भेन्टिलेटर उपलब्धता बढाउन पनि जाेड दिइएकाे बताए ।

निष्कर्षमा प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्नखाले सुझावहरू आएकाेमा सरकारले आवश्यक र जायज सुझावहरू कार्यान्वयन गरी अगाडि बढ्ने तथा सिंगाे देश एकताबद्ध भएर काेराेना संक्रमणलाई पराजित गरिछाड्ने बताएकाे सल्लाहाकार थापाले जानकारी दिए।

छलफलमा प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा,जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, कोभिड-१९ संकट व्यवस्थापन केन्द्र(सिसिएमसी)मा रहेका मन्त्रीहरू र जनस्वास्थ्य क्षेत्रका विज्ञहरू सहभागी थिए।

प्रकाशित मिति: : 2020-08-04 17:09:31

प्रतिकृया दिनुहोस्