अमेरिका र चीन आफ्नो देशको पत्रकारलाई लिएर जुध्दै

एजेन्सी

बेइजिङ

कोरोना भाइरसका कारण बिग्रिएको अमेरिका–चीन सम्बन्ध झन् तितो बन्दै गइरहेको छ। हालै दुई देशले एकअर्काको बाणिज्य दूतावास बन्द गरेको घटना सेलाउन नपाउँदै दुई देशका पत्रकारहरूको मुद्धाले नयाँ रूप लिएको छ। 

चीनले आफ्नो देशका पत्रकारहरूको भिषाको समयावधी नलम्बाएर अमेरिकाले अमानवीय काम गरेको आरोप लगाएको छ। 

उसले वासिङ्टनले चिनियाँ पत्रकारविरूद्ध ‘सत्रुतापूर्ण व्यवहार’ गरेको खण्डमा बेइजिङले पनि उस्तै व्यवहार गर्ने स्पष्ट पारेको छ। 

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले चिनियाँ पत्रकारलाई अमेरिका छोड्न बाध्य बनाएको खण्डमा आफूले पनि चीनमा रहेका अमेरिकी पत्रकारको भिषाको समय नथप्ने बताएका छन्। 

उनले आरोप लगाए, ‘अमेरिकाले मे महिनाको मध्यदेखि चिनियाँ पत्रकारको भिषाको मिति थपेको छैन। उसले मिति थप्ने विकल्प हुँदा हुँदै ९० दिनमा सिमित पार्न खोजेको छ।’

वाङले चीनका कति पत्रकार अमेरिकाको व्यवहारले प्रभावित बन्न पुगेका छन् भन्ने कुरा खुलाउन चाहेनन्। उनले अमेरिकी पत्रकारविरूद्ध कस्तो कार्यवाहीमा चीन उत्रिन्छ, त्यो पनि स्पष्ट पारेनन्।

प्रकाशित मिति: : 2020-08-05 17:01:21

प्रतिकृया दिनुहोस्