अर्को वर्षको सुरुवातमा करोडौं खाेप आउन सक्छ, तर कोरोनालाई जरैदेखि उन्मूलन गर्न सक्दैनाैं: डा. फाउची

वैज्ञानिकलाई कुनै राजनीतिक दबाब दिँदैनाैं

एजेन्सी

वाशिङ्टन

अमेरिकाका चर्चित संक्रामक रोग विशेषज्ञ एन्थोनी फाउचीले अर्को वर्षको सुरुवातमा कोरोना भाइरसको करोडौं डोज आउन सक्ने बताएका छन्।

फाउचीले समाचार एजेन्सी रोयटर्सलाई दिएको अन्तरवार्तामा भने,‘हामीलाई निर्माताले सन् २०२१ काे अन्त्यसम्म खाेपको करोडौं डोज पाइने कुरा बताएका छन्। यस्तोमा मलाई लागिरहेको छ कि स्थिति हाम्रो नियन्त्रणमा छ र खाेप बनाउने प्रक्रिया सकारात्मक छ।’

तर खाेप बन्नेमा आफू आशावादी भएपनि यकिनका साथ केही भन्न नसक्ने अवस्थामा रहेकाे उनले बताए। ‘खाेपका लागि ग्यारेन्टी दिन सकिँदैन। खाेप आइहाले पनि हामीले कोरोना महामारीलाई जरैदेखि उन्मूलन गर्न सक्छौं भन्ने मलाई लाग्दैन किनभने कोरोना जस्ता संक्रामक भाइरस निकै कम हुन्छन्,’ उनले भने। 

यस्तै उनले अमेरिकी नियामक निकायले कोरोना भाइरसको खाेपका लागि वैज्ञानिकलाई कुनै राजनीतिक दबाब नदिइने बताए।

अमेरिकामा यसैवर्ष  ३ नोभेम्बरमा राष्ट्रपति चुनाव छ र राष्ट्रपति ट्रम्पको चाहना चुनाव अघि नै कुनै प्रभावकारी खाेप आओस् भन्ने रहेको बताइन्छ।

राष्ट्रपति चुनाव अघिको ‘ओपिनियन पोल’मा रिपब्लिकन ट्रम्प डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनभन्दा पछि परिरहेका छन्। 

कोरोनासँग जुध्न अमेरिकाले अपनाएका उपायहरुका सन्दर्भमा ट्रम्पको भूमिकाबारे चर्को आलोचना भइरहेको छ र त्यसको असर मतदातामाथि पनि परिरहेको छ। यस्तो स्थितमा बाइडेनको तुलनामा ट्रम्पकाे लोकप्रियता कम देखिएको छ। 

आगामी अक्टोबर महिनासम्म अमेरिकाले खाेप सार्वजनिक प्रयाेगका लागि निकाल्न सकेको खण्डमा भने ट्रम्पलाई चुनाव जित्न मद्दत मिल्न सक्थ्यो भन्ने विश्लेषण छ। 

तर फाउचीले भने, ‘खाेपका लागि कुनै दबाब नदिइने भनेर हामीलाई आश्वस्त पारिएको छ। त्यसका लागि हामीमाथि कुनै राजनीतिक हस्तक्षेप हुनेछैन। खाेपका लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेको सुरक्षा र प्रभावकारी मानक हो, राजनीतिक दबाब होइन भनेर हामीलाई बताइएको छ।’

यता बिश्लेशकहरुले कोरोनाले जति बिध्वंस अमेरिकामा मच्चाएको छ त्यति कुनै मुलुकमा मच्चाएको छैन भनी बताएका छन्। यद्यपि, राष्ट्रपति ट्रम्प याे कुरा मान्दैन्न।

फाउचीले भने, ‘कोरोनाले पूरा संसारलाई गाँजेको छ तर अमेरिकाले जति झेलिरहेको छ, त्यति कसैले पनि झेलेको छैन। संक्रमितको संख्या र मृतकको आँकडा हेर्दा नै स्पष्ट रुपमा थाहा हुन्छ।’

अहिले संसारभरि कोरोना संक्रमित र त्यसैको कारण भइरहेको मृत्युको संख्या अमेरिकामा मात्रै २० देखि २५ प्रतिशत छ जबकि यहाँको जनसंख्या संसारको कूल जनसंख्याको पाँच प्रतिशतभन्दा पनि कम छ। 

प्रकाशित मिति: : 2020-08-06 08:30:00

प्रतिकृया दिनुहोस्