इस्तानबुल एयरपोर्टमा अड्किँदा- ३: चिहानबाट बाँचेर फर्किँदा

इस्तानबुल एयरपोर्टमा अड्किँदा- ३: चिहानबाट बाँचेर फर्किँदा

इस्तानबुल एयरपोर्टमा अड्किँदा- ३

यो लेखको पहिलो भागः मर्नुअघि

यो लेखको दोस्रो भागः मलाई जिउँदै चिहानमा जानु थिएन

मध्यरातमा, अर्काको देशको सुनसान चिहानघारीमा थिएँ। मलाई चिहानसम्म पुर्‍याउने त्यो ड्राइभरले ऊ र म बसेको ट्याक्सी भित्रका सबै बत्ती बन्द गरेको थियो।

उसले जिउँदो मान्छेलाई चिहानमा पुर्‍याएको थियो। यसको अर्थ हो, उसले आफूभित्रका पनि सबै बत्ती बन्द गरेको थियो।

मलाई डर देखाउनका लागि ऊसँग संसारको सबभन्दा भयानक हतियार थियो- अँध्यारो।

संसारमा जति मान्छे 'अँध्यारोमा' मरेका छन् त्योभन्दा बढीलाई 'अँध्यारोले' मारेको छ।

मलाई पुर्‍याइएका चिहानघारीभरी सेता चिहानहरू देखिन्थे। म जुन ट्याक्सीभित्र थिएँ, त्यो ट्याक्सी पनि सेतो थियो। थर्रर कामिरहेको मेरो जिउले सोच्यो- के म गुड्ने चिहानभित्र छु?

जहाँ जिउँदो हुन पाइँदैन त्यो चिहान हो भने अहिले कति मान्छेहरू एकतले, दुईतले, तलैतले चिहानहरूमा बसिरहेका होलान् है?

ट्याक्सीभित्रको अँध्यारोमा आफ्नो सिटमा बसेर त्यो ड्राइभरले मलाई कहाँ र कसरी हेरिरहेछ? के गर्ने योजना बनाइरहेछ? सम्झेरै जिउ कामिरहेको थियो। तर अँध्यारोले गर्दा कामेको देखिएको थिएन।

ट्याक्सीको झ्यालबाट पुलुक्क बाहिर हेर्दा त्यो चिहानघारीभरी दर्जनौं बिराला हिँडिरहेका देखेँ। ती बिरालाहरू कसको मलामी आएका हुन्? मेरा हातभित्रका मुटुहरूले भने, 'सानो छँदा मैले बिरालोका बच्चाहरूलाई मेरै भागको दूधभात खुवाएको थिएँ। यो ड्राइभरले मलाई नराम्रो गर्न लागेको देखे भने, के यी बिरालाहरूले दूधको भार तिर्लान्?'

एक्कासि बिजुली चम्किएजसरी दुई गाला जति उज्यालो ड्राइभरको मोबाइलबाट उफ्रिएर उसको अनुहारमा टाँस्सियो। फोन आएको रहेछ। उसले रिसाएको बादलजस्तो अनुहार बनायो। फोनमा चट्याङ परेजस्तो बोल्न थाल्यो। ऊ टाउको यताउता घुमाउन थाल्यो। खै, कसलाई के संकेत दिन हो, ट्याक्सीभित्रको बत्ती बाल्यो। अनि सानो स्वरमा फुस्फुसाउन थाल्यो।

प्रकाशित मिति: Aug 06, 2020 09:10:11

प्रतिक्रिया दिनुहोस

सबै