चीनमा नयाँ भाइरस फेला, ७ को निधन

एजेन्सी

बेइजिङ

चीनमा फेरि अर्को भाइरसको प्रभाव देखिएको छ। ‘एसएफटिएस’ नाम गरिएको यो भाइरसले ७ जनाको ज्यान गइसकेको चिनियाँ पत्रिकाले दावी गरेका छन्। 

माकुरा जस्तै किटाणुले टोकेपछि फैलिने यो भाइरसले चीनमा ६० जना संक्रमित भइसकेको बताइएको छ। 

पछिल्लो ६ महिनामा पूर्वी चीनको जियाङ्सु प्रान्तमा मात्र ३७ जना प्रभावित भएका छन्। यस्तै अनुहुई प्रान्तमा थप २३ जना संक्रमित भेटिएको चिनियाँ मिडियाले बताएको छ। 

यो भाइरसबाट संक्रमितमा ज्वरो आउने तथा खोकी लाग्ने लक्षण देखिएको छ। यस्तै, ल्यूकोसाइट र ब्लड प्लेट्समा कमि पनि देखिएको छ। जियाङ्सु प्रान्तको राजधानी नानजिङमा एक जना महिला एक महिना लामो उपचारपछि घर फर्किएको बताइएको छ। 

झेजियाङ विश्वविधालयको अस्पालमा काम गर्ने डा शेङ जिफाङले भने, ‘यो भाइरसको संक्रमण एकबाट अर्कोमा सर्न सक्छ।’ संक्रमित बिरामीको रगत तथा पसिनाबाट ‘एसएफटिएस’ भाइरस फैलिने आशंका गरिएको छ। विशेषज्ञहरूले धेरै गम्भीर बनिहाल्नु पर्ने अवस्था नरहेको र स्थिति नियन्त्रणमा रहेको बताएका छन्। ‘एसएफटिएस’ भाइरस नयाँ होइन, सन् २०११ मा वैज्ञानिकले यो भाइरसको पहिचान गरेका थिए।

प्रकाशित मिति: : 2020-08-07 14:36:39

प्रतिकृया दिनुहोस्