रुसले १२ अगस्टमा कोरोनाको भ्याक्सिन रजिस्ट्रेशन गर्ने, डब्ल्यूएचओको सशंकित

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विश्वको पहिलो कोरोना भाइरसको भ्याक्सिन आफ्नो देशले तयार पारिसकेको र यसको रजिस्ट्रेशन १२ अगस्टदेखि सुरु हुने बताएका छन्। 

राष्ट्रपति पुटिनको भनाईको पुष्टी गर्दै स्वास्थ्य सहायक मन्त्री ओलेग ग्रिडनेभले शुक्रबार रुसी मिडियालाई बताएका छन्– कोभिड १९ भ्याक्सिनको रजिस्ट्रेशन १२ अगस्टबाट हुनेछ। भ्याक्सिनको नाम ‘गाम–कोभिड–भ्याक लियो’ राखिएको छ।’

क्लिनिकल परीक्षणमा यसको नतिजा सतप्रतिशत देखिएको रुसको रक्षा मन्त्रालय र गामालेया नेशनल सेन्टर फर रिसर्च अन एपिडिमियोलोजी एण्ड माइक्रोबायलोजीले बताएको छ। यसैले भ्याक्सिन तयार पारेको हो। 

ओलेगले क्यान्सर सेन्टरको उद्घाटन गर्ने क्रममा भने, ‘भ्याक्सिनको तेस्रो चरणको परीक्षण भइरहेको छ। हामी थप सुनिश्चित हुन चाहन्छौं। यो भ्याक्सिनमा कुनै असुरक्षा छैन। पहिले बुढाबुढी तथा मेडिकल क्षेत्रमा काम गर्नेलाई यो भ्याक्सिन लगाइने छ।’

रुसी रक्षा मन्त्रालयले भ्याक्सिनको परीक्षणको परिणाम निकै राम्रो आएको बताएको छ र उसले संक्रमितमा राम्रो इम्युनिटी विकास भएको प्रमाण भेटिएको बतायो। भोलिन्टियर्समा गरेको प्रयोगमा नकरात्मक साइडइफेक्ट देखा नपरेको मन्त्रालयले दावी गरेको छ। ल्याबबाट भ्याक्सिन बिक्रि गर्ने स्विकृति प्राप्त भएपछि जनतासमक्ष पुर्याइने मन्त्रालयले बतायो। 

रुसी सरकारले कोरोना भ्याक्सिनको विकासका लागि विश्वभरिका अन्य देशले गरिरहेको प्रयासभन्दा आफू धेरै अगाडि रहेको दावी गरेको छ। यसै महिना ठूलो स्तरमा तीनवटा अझैं परीक्षण हुने सरकारले बताएको छ। 

यद्यपि रुसले दावी गरेपनि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले शंका जनाएको छ। डब्ल्यूएचओले तेस्रो चरणको परीक्षणलाई लिएर आशंका उत्पन्न गरेको छ। डब्ल्यूएचओका प्रवक्ता क्रिस्टियन लिन्डमियरले प्रेस सम्मेलनमा भने, ‘तेस्रो चरणको परीक्षण बिना नै भ्याक्सिन प्रयोगलाई स्विकृति प्रदान गरिएको खण्डमा यसले खतरनाक नतिजा निम्त्याउन सक्छ।’

डब्ल्यूएचओले रुसले भ्याक्सिन बनाउँदा आफूले तय गरेको दिशानिर्देशको पालना नगरेको आरोप लगाएको छ र रुसले बनाउने भ्याक्सिनमा विश्वास गर्न नसकिने बताएको छ। 

डब्ल्यूएचओले भ्याक्सिन उत्पादनका लागि थुप्रै गाइडलाइन्स बनाइएको र सबै टिम यही अनुसार काम गरिरहेको बतायो। र, उसले क्लिनिकल परीक्षण गरिरहेको २५ भ्याक्सिनको नाम सूचीबद्ध पनि गरेको छ। यसमा १३९ भ्याक्सिन प्रि–क्लिनिकलको चरणमा रहेका छन्।

प्रकाशित मिति: : 2020-08-08 18:05:04

प्रतिकृया दिनुहोस्