खराब मौसमको घरः माउन्ट वाशिंटन चुम्दा...

यता वोस्टनतिर कोरोनाको प्रभाव अलि कम हुँदै गएको थियो भने अर्कोतिर गर्मीले सताइरहेको थियो। काममा पहिले पहिले जस्तो पेलमपेल थिएन। बिदाको समयलाई यताउति तानतुन पारेर हामी बाबु छोरा पनि निस्क्यौँ माउन्ट वाशिंटनको उचाइँ छुन। 

एक हप्ता अघिदेखि नै मित्र राजु शाहीले खबर गर्नुभएको थियो, आगामी आइतवार हाम्रो छिमेकी राज्य न्यूह्याम्पसायरस्थित माउन्ट वाशिंंटन जानुपर्छ भनेर। मैले उहाँको प्रस्तावलाई सहर्ष स्वीकार गरेँ। छोरो अभिषेकलाई पनि यो प्रस्ताव राखेँ, ऊ पनि तयार भयो। मित्र युवराज चौलागाईँ पनि राजुले राखेको प्रस्तावमा केही दिन अघि नै तयार भएर बसिसक्नुभएको थियो। हामी दुवै जना हौसिएका थियौँ प्रकृतिको काखमा रमाइलो अनुभूति सँगाल्ने तयारीका साथ। उहाँले छोरा प्रल्हादलाई पनि यो यात्रामा सामेल गराउनुभयो।

हामी चारजना एउटा गाडीमा हुँइकियौँ भने उताबाट राजु, गोपाल कँडेल र खगेन्द्र गुरुंग सामेल हुनुभयो। न्यूह्याम्पसायरबाट मदन थेवे र प्रेम पुलामी पनि हाम्रै भ्रमण दलमा सहभागी हुन आउनुभयो। सबै सीधासाधा र सहृदयी। उहाँहरुसमेत हामी नौ जनाको डफ्फा तयार भएको थियो। राजुले त विगत केही वर्षदेखि हरेक वर्ष वाशिंटन जाने हप्ता भनेर आफ्नो क्यालेण्डरमा चिन्ह पनि लगाइसक्नुभएको रहेछ। उहाँले त यो पहाडलाई सहज गन्तव्य बनाएका कारण यसपटक हामीलाई पनि साथ लैजाने गरी निमन्त्रणा पठाउनुभएको थियो र हामी सबैले यो निमन्त्रणालाई सहर्ष स्वीकार गरेका थियौँ। 

माउन्ट वाशिंटन अमेरिकाको उत्तर पूर्वी इलाकाको सर्वाधिक उचाइँमा अवस्थित ६२८८ फिट अग्लो हिमाली टाकुरो हो। यसले अमेरिकाको ऐतिहासिक स्थानका रुपमा मान्यता पाएको छ। जहाँ हाम्रो सगरमाथामा भन्दा पनि तीव्र गतिमा हावा वहन्छ। सन् १९३४ मा मापन गरिएको तथ्यांक अनुसार, यो टाकुरामा ३७२ किमी प्रतिघन्टाको दरले हावा वहेको थियो, जुन हिमाली भेगमा वहेको विश्वको हालसम्मकै सर्वाधिक दू्रत गतिको वहाव हो। यो टाकुरोलाई कतिपयले विश्वकै सर्वाधिक खराब मौसमको घर भनेर पनि सम्वोधन गर्ने गर्छन्। 

हामीले माउन्ट वाशिंटनको फेदमा गाडी पार्क गर्यौ र पानी, चाउचाउ, चिप्स, वदाम र केही शक्तिवर्धक वार, फलफूल र हल्का ज्याकेट सहित झोलाको कुन्तुरो बोकेर एउटा नवीन र रोमान्चक यात्राका लागि टुकरम्यान एभिल ट्रेलबाट हाइकिंगका लागि प्रस्थान गर्यौँ। प्रल्हाद र अभिषेक त युवा थिए, उनीहरुसँग अरु कुनै सहाराको टेको लिएनन् तर हामीले भने लठ्ठीलाई हाम्रो यात्राको अभिन्न अंगका रुपमा स्वीकार गरिसकेर एक एक वटा लड्ठी समाएका थियौँ। र, पछि जुन स्थानबाट हामीले लठ्ठी टेक्न सुरु गरेका थियौँ, त्यहीँ आएर सधन्यवाद त्यसलाई बिदा गरेका थियौँ। 

हामी चार जनाका लागि यो नितान्त नयाँ रुटको यात्रा थियो। यात्रा सुरु गर्दा बिहानको त्यस्तै ९ बजेको हुँदो हो। आकाशमा काला बादलहरु यताउति गरिरहेका थिए। दिउँसोको एक बजेतिर पानी पर्ने संभावना देखाएको थियो। बाटो कस्तो छ भन्ने अनभिज्ञता र कठिनताका कारण थुपै्र मानिसको ज्यान लिइसकेको यो पदयात्राका बारेमा कताकति मनमा डर पनि लागिरहेको थियो। बाटो फराकिलो भए तापनि अधिकाँश स्थानमा भने एकजना भन्दा बढी हिँड्न नमिल्ने किसिमको थियो। कतै कतै त बाँदर लड्ने भीर पनि थियो। त्यस्ता भीरलाई पनि हामीले अदम्य साहसका साथ पार गरेका थियौँ। कहिले हामी भेट्थ्यौँ सुस्ताएर बसेका पथिक त कहिले लक्ष्य चुमेर फर्केका पदयात्री। कोही कोही त एक्लाएक्लै थिए भने अधिकाँश त समूहमा थिए। 

आकाशमा सूर्यको तापको प्रभाव नजानिँदो किसिमले बढ्दै गएको थियो तथापि रुख र तिनका हाँगाबिँगा एवं बुट्यानहरुले घामको रापलाई केही निस्तेज बनाइरहेका थिए। हाम्रो भ्रमण दलका पाँच सदस्यले भने हामीभन्दा करिब आधाघण्टा पहिले नै यात्रामा पाइला चलाइसक्नुभएको थियो भने हामी केही समय ढिला भए पनि उहाँहरुलाई करिब आधाआधी बाटोमा भेटेका थियौँ। हामी थकाइ मार्दै, चाउचाउ र चिउराको स्वाद लिँदै प्रकृतिको समीपबाट गुज्रिरहेका थियौँ।

टोलीमा छुटेका अरु सदस्यसँग निकै माथि पुगेपछि यो विरानो स्थानमा भेटघाट र चिनापर्ची हुँदा वर्षौँअघि हराएका आफन्ती भेट भए जसरी हृदय प्रफुल्ल भएको थियो, नयाँ रौनक छाएको थियो। सबै बसेर फेरि आआफूले ल्याएका सातु चामल बाँड्दै खाएको दृश्य रहरलाग्दो थियो। धेरै बस्नहुन्न है साथीहरु हो, खुट्टामा कैँडा लाग्छ, हिँडौँ हिँडौँ यसरी नै नेतृत्व दिनुभएको थियो नेपाल प्रहरीका पूर्व अधिकृत राजु शाहीले। हुनत हामी पहाडमा जन्मे हुर्केका मानिसका लागि यो त्यति विशाल पहाड होइन।

झण्डै डेढ दशक अघि एभरेष्ट म्याराथनका सिलसिलामा समाचार संकलन गर्न फाप्लुबाट नाम्चेबजारसम्मको यात्रा गरेको स्मरण पनि आइरहेको थियो। तर उहिलेका कुरा खुुइले भइसके। हाम्रो उमेरले पनि नेटो काटिरहेको थियो। त्यसैले यो दुर्लय जस्तै लाग्ने पहाड छिचोलेर कसरी लामो सास लिने भन्ने ध्याउन्न थियो। तर युवराजजीसँगका पौराणिकदेखि समाजका विविध पाटा र विषयमा भएका कुराकानीले माथिसम्म पुगेको पनि पत्तै भएन। प्रल्हाद र अभिषेक चाहिँ प्राकृतिक छँटाको तस्वीर आफ्नो क्यामरामा कैद गर्न तँछाडमछाड गरिरहेका थिए। 

साधारणतया यस्ता ट्रयाक वा ट्रेल माटोयुक्त हुन्छ। तर यो अरुभन्दा भिन्न थियो। यस अर्थमा कि यो ट्रेल केवल ढुँगाको थियो। हामी हिँडेको बाटो ढुँगे थियो। पथिकहरुले बाटो नभुलुन् र अर्को ट्रेलमा नजाउन् भनेर केही मिटरको दूरीमा पहेँलो चिन्ह लगाइएको थियो। त्यसैलाई पछ्याउँदै हामी सबैजना हिँडिरहेका थियौँ। लडे पनि ढुंगा र समाए पनि ढुंगा। आधा भन्दा अलि माथि पुगेपछि हामी सबै सुस्ताएर हेरेका थियौँ, प्रकृतिको मनोरम छँटा, यसको रुप र विचित्रता। एकातिर नजिकैको खोँचमा हिउँको थुप्रा र त्यसमा चिप्लेटी खेल्नेहरुको ताँती थियो भने अर्कोतिर मन्द हावाको झोक्कासँगै आएको सौर्य तेज। स्वच्छ र स्वस्थ हावाले हाम्रो मन मस्तिष्कलाई उद्वुद्ध बनाइरहेको थियो। यहाँबाट हामीले त्यो चुचुरोमा रहेको दृश्यावलकोनस्थलको टावर देख्यौँ। त्यसले हामीलाई लक्ष्य भेदन गर्न सहज बनाएको थियो तर निकै बेर हिँड्दा पनि भेट्न नसकिने। 

बल्लबल्ल हामीले लक्ष्य भेदन गर्यौँ। हाम्रो टोलीका एकजना सदस्य बाहेक अरु सबै लगभग एकै समय पुग्यौँ। त्यसबेला सगरमाथा नै चुमेको जस्तो असीम आनन्द आएको थियो। सगरमाथा नै चुम्ने असंख्य नेपालीहरुलाई संझेर मन फुरुंग भयो। अर्का एकजना भने हामी पुगेको आधा घन्ूटापछि हस्याँग फस्याँग गर्दै पुगेका थिए। सबैजना वहेको चिसो हावामा एकछिन विचरण गर्यौँ। झोलाबाट ज्याकेट झिकेर लगायौँ। चारैतर्फ आँखा दौडायौँ, सबैतिर हरियाली। नौ डाँडापारिसम्म पनि देखिने। हामीले त्यहीँ देखेका थियौँ आकाश र धरतिको मिलनविन्दु। अरुहरु जस्तै वाशिंटन चुचुरोमा लामबद्ध भएर तस्वीर खिच्यौँ। फेरि झोला फुकायौँ र अलिअलि खानेकुरा बाँडीचुँडी खायौँ। त्यहाँ रेलबाट र आआफ्नो गाडीबाट गएका थुप्रै मानिस भेला भएका थिए।

राम्रो मौसम भएकोले होला पर्यटकहरुको बाक्लो उपस्थिति थियो। करिब एक घन्टा त्यहाँबाट देखिने मनोरम दृश्यहरुको अवलोकन गर्दै हामी विस्तारै ओरालो झर्यौँ। बाटोमा एक जोडी फेला परे। शायद हाम्रो रुप र हँसिमजाक देखेर होला उकालो चढ्दै गरेका एक जोडीले सोधिहाले तपाईहरु कहाँबाट आउनुभएको हो ? नेपालबाट भन्नासाथ केटी चाहिँले खुसी हुँदै नमस्ते गरी र भनी मैले ३५ वर्ष अगाडि नेपालबाट एउटी शेर्पालाई धर्मपुत्रीका रुपमा लिएर आएकी थिएँ। ऊ अहिले कलेजमा छे। हामी खुसी भयौँ। 

करिब सात घण्टे पैदल यात्रा सकेर फेदीमा पुग्दा करिब चार बजेको थियो। एकछिन फेरि हामी त्यहाँ सुस्तायौँ। सबैको खुट्टामा कैँडा लागेको थियो। मेरो त तीन दिनसम्म पनि घुँडा करकर गरिरहेको कारण आइन्दा यति कठिन यात्रामा आउन्न भन्ने लागेको थियो तर सञ्चो भएपछि भने फेरि जान पाए हुन्थ्यो भन्ने लागिरहेको छ। हेरौँ, अर्कोपटक कहिले मिल्छ ? 

यो यात्रा एकतर्फी करिब पाँच माइलको थियो भने जम्माजम्मी ११ माइलको यात्रा गरिएछ। हाम्रो घडीले देखाइरहेको थियो २५ हजार पाइला। 
वोस्टन, अमेरिका। 

प्रकाशित मिति: : 2020-08-09 11:12:32

प्रतिकृया दिनुहोस्