राष्ट्रिय फुटबल टिमका २५ जनाकाे स्वाब संकलन, बाँकीको भोलि

विश्वकप छनोटका लागि प्रशिक्षण सुरु गर्ने तयारीमा रहेकाका राष्ट्रिय फुटबल टिमका खेलाडीहरुको कोरोना परीक्षण गरिएको छ।

पाटन अस्पतालमा आज पहिलो चरणमा ११ जना खेलाडीसहित २ जना अफिसियल र होस्टलका १२ जना गरी २५ जनाको स्वाब संकलन गरिएको हो। बाँकी खेलाडी र अरु स्टाफको मंगलबार स्वाब संकलन गरिनेछ।

क्याम्पमा राखिने ३४ खेलाडीसँगै कोचिङ स्टाफ, अफिसियल, होस्टल स्टाफलगायत गेरेर ७० जनाको कोराेना परीक्षण गरिने राष्ट्रिय टिमका म्यानेजर मधुसुधन उपाध्यायले जनाए।

भदौ १ बाट खेलाडीलाई अभ्यासमा उतार्ने तयारीमा रहेको अखिल नेपाल एन्फाले खेलाडी, प्रशिक्षक, टिम अफिसियल र होस्टलका कर्मचारीलाई पीसीआर परीक्षण गराएर मात्र खेलाडी अभ्यासमा उतार्ने तयारी गरेको हो।

बन्द प्रशिक्षणमा रहने ३४ मध्ये ३३ खेलाडी अहिले उपत्यकामा क्वारेन्टाइनमा छन्। 

खेलाडीको कोरोना परीक्षण गर्न दुई दिन लाग्ने पनि एन्फाले जनाएको छ। परीक्षणको नतिजा आएपछि एन्फाले खेलाडीलाई होस्टलमा राख्नेछ। 

एन्फाले बिहीबार एन्फाले एन्फा होस्टल, एन्फा कार्यालय लगायत स्थानलाई डिसइन्फेक्सन गरेको थियो।

विश्वकप छनोट अन्तर्गत समूह बी मा रहेको नेपालले ३ खेल खेल्न बाँकी छ।

अक्टोबर-नोभेम्बरमा प्रस्ताव गरिएको उक्त खेलहरु नेपालले घरेलु मैदान दशरथ रंगशालमा खेल्ने तालिका छ। नेपालले चाइनिज ताइपेई, अष्ट्रेलिया र जोर्डनसंग घरेलु मैदानमा खेल्न बाँकी छ।

प्रकाशित मिति: : 2020-08-10 13:49:15

प्रतिकृया दिनुहोस्