भुटानमा पहिलोपटक लकडाउनको घोषणा

एजेन्सी

थिम्पु

भुटानमा पहिलोपटक लकडाउनको घोषणा गरेको छ। विदेशबाट फर्किएकी एक महिलामा कोरोना भाइरसको संक्रमण देखिएसँगै भुटानले मुलुकभर ले मंगलबारदेखि लकडाउन गर्ने निर्णय गरेको हो।

केहीदिन अगाडी कुबेतबाट फर्किएकी २७ वर्षीया भुटानी महिलालाई काेराेना संक्रमण पुष्टि भएकाे छ। 

उनलाई क्वारेन्टाइनमा राखिएको थियो। कोरोना भाइरसको परीक्षण गर्दा नेगेटिभ आएपछि उनलाई क्वारेन्टाइनबाट घर पठाइएको थियो। यद्यपि सोमबार एक क्लिनिकमा पुनः परीक्षण गर्दा भने उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको भुटानको स्थानीय प्रशासनले जनाएकाे छ।

भुटानको सरकारले सबै संक्रमितको पहिचान गरी उनीहरुलाई आइसोलेट गर्न अनिश्चितकालीन लकडाउन घोषणा गरिएको बताएको छ।

यसका साथै सरकारले सबै मानिसहरुलाई घरमा नै बस्न र आफू र आफ्नो परिवारलाई यो रोगबाट बचाउन आग्रह गरेको छ। 

सबै विद्यालय, संस्थान, कार्यालयहरु र व्यावसायिक क्षेत्रहरु यो लकडाउनको अवधिमा बन्द रहनेछन्। साथै विद्यार्थीहरुको परीक्षा पनि स्थगित भएको छ।

स्थानिय प्रशासनकाे अनुसार अहिलेसम्म भुटानमा ११३ कोरोना भाइरसका संक्रमित फेला परेका छन्। अहिलेसम्म भुटानमा कोरोना संक्रमणका् कारण कसैको मृत्यु भएको छैन।

प्रकाशित मिति: : 2020-08-11 14:53:03

प्रतिकृया दिनुहोस्