सन् १९६३ मा ढाका पुलिसलाई १–० ले पराजित गर्न बल मिलाएका आइएस सुब्बा रहेनन्

सन् १९६३ मा पूर्वी पाकिस्तानको ढाका (हाल बंगलादेश) मा आयोजना भएको आगा खाँ गोल्ड कप खेल्न गएको नेपाली राष्ट्रिय फुटबल टोलीका पहिलो पुस्ताका फुटबल खेलाडी आइएस (इन्द्रसिंह) सुब्बाको निधन भएको छ। 

उनी मुटुको समस्याका कारण डेढ महिनादेखि बिरामी थिए। केही साताअघि बासबारीको गंगालाल ह्दय केन्द्रमा भर्ना गरिएका सुब्बाको मंगलबार निधन भएको राष्ट्रिय टोलीका पूर्व खेलाडी पुनम थापाले बिएल नेपाली सेवालाई जानकारी दिए। 

आइएस सुब्बा बिराटनगरबाट प्रतिनिधित्व गर्दै राष्ट्रिय टोलीमा समावेश भएका थिए। उनी २०१६ सालमा नेपाली राष्ट्रिय टिमका अर्का हस्ती तथा पुनम थापाका पिता स्वर्गीय अमर थापासँग प्रदर्शनी खेल खेल्न भारतको कोलकाताबाट विराटनगर आएका थिए। त्यतिबेला उनीहरू कोलकातामै बसेर फुटबल खेल्थे। 

उनीहरू यङ गोर्खा संघको नाममा फुटबल खेल्न विराटनगर आउँदा आइएस सुब्बा र अमर थापाको खेल हेरेपछि तत्कालिन बडाहाकिम दामोदर शमशेर राणा दंग परेका थिए। 

उनले नेपालमै बसेर फुटबल खेल्न अनुरोध गर्दै विराटनगरमा काम लगाइदिने आश्वासन दिएपछि उनीहरू कोलकाता छोडेर विराटनगर आएका थिए। 

२०१८ सालमा विराटनगरमा राजधानी काठमाडौं बाहिर मोफसलमा तत्कालिन राजा महेन्द्रको नाममा महेन्द्र गोल्ड कपको स्थापना हुँदा आइएस सुब्बा मोरङ–११ टिमबाट मैदानमा उत्रिएका थिए। त्यतिबेला रेफ्रिको भूमिकामा नेपाल फुटबल संघका संस्थापक अध्यक्ष नर शमशेर राणा स्वयम बसेका थिए। 

उनले आइएस सुब्बाको खेल मन पराएपछि उनीलगायत पूर्वबाट ७ खेलाडीलाई राष्ट्रिय टिममा समावेश गराएका थिए। त्यतिबेला पूर्वबाट आइएस सुब्बासँगै विष्णु बराल, बीबी गुरुङ, प्रभुधन सुब्बा, अमर थापा, पद्म श्रेष्ठ र सालिग्राम अधिकारी नेपाली टिममा समावेश भएका थिए। 

काठमाडौंमा केही दिन अभ्यास गरेपछि नेपालको राष्ट्रिय टोली पहिलो पल्ट अन्तर्राष्ट्रिय क्लब फुटबल खेल्न ढाका उत्रिएको थियो। ढाकामा नेपालले तीनवटा क्लबविरूद्ध समूह चरणको खेल खेलेको थियो। 

पहिलो खेलमा नेपाल वेस्टर्न रेल्वेविरूद्ध ८–० ले पराजित भयो। दोस्रो खेलमा ढाका वन्डर्सविरूद्ध ७–० को पराजय भोग्यो। तर, तेस्रो खेलमा ढाका पुलिसलाई १–० ले पराजित गर्यो। 

विदेशी भूमिमा पहिलो जित दर्ता गराएको यो खेलमा ‘राइट आउट’ प्रकाश विक्रम शाहलाई गोलको मौका दिलाउन आइएस सुब्बाल खेल सकिन १५ मिनेटअघि मैदानको बीच भागबाट बल उपलब्ध गराएका थिए। नेपाल पहिलो ऐतिहासिक जित दर्ता गरेर घर फर्किएको थियो। 

आइएस सुब्बा सम्मिलित मोरङ–११ ले २०१९ सालमा प्रतिष्ठित महेन्द्र गोल्ड कपको उपाधि जितेको थियो। 

उनी लामो समय नेपाली फुटबलमा सक्रिय भए। उनको निधनले नेपालले ऐतिहासिक खेलाडी गुमाएको थापाले बताए।

प्रकाशित मिति: : 2020-08-11 22:07:58

प्रतिकृया दिनुहोस्