कमला देवी अमेरिकी राजनीतिमा पहिलो अश्वेत उपराष्ट्रपति उम्मेदवार

कृष्णराज खनाल

बाेस्टन (अमेरिका)

डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपतिको उम्मेदवार रहेका जो वाइडेनले उपराष्ट्रपति पदमा सिनेटर कमला देवी ह्यारिसलाई उठाउने भएका छन्। कमला देवी अफ्रिकी–अमेरिकी नागरिक हुन्। 

अमेरिकाको राजनीतिमा यो पहिलो घटना हो, कुनैपनि पार्टीले उपराष्ट्रपति पदमा अश्वेत उम्मेदवारलाई उठाउन लागेको। गत महिना अफ्रिकी–अमेरिकी नागरिक जर्ज फ्लोइडको प्रहरीद्धारा घाँटी थिचेर हत्या गरिएपछि उर्लेको विशाल आन्दोलनका बीच वाइडेनलाई कालाजातिका महिलालाई उपराष्ट्रपति तोक्नुपर्ने दबाव थियो। 

जर्ज फ्लोइडको घटनापछि कमला देवीको चर्चा चुलिएर गएको थियो। उनी गत डिसेम्बरमा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बनेकी थिइन। तर, चुनाव खर्च धान्न नसक्ने भएपछि ५५ वर्षीय कमला देवीले आफ्नो नाम फिर्ता लिएकी थिइन।

उनी हिन्दु आमा र क्रिश्चियन बाबुकी सन्तान हुन्। उनी मन्दिर र चर्च दुबै धार्मिक स्थानमा जान्छिन्। 

कमला देवीमा प्रशासनिक क्षमता र दक्षता दुवै भएको मानिन्छ। उनले क्यालिफोर्नियाको महान्यायाधीवत्ताको भूमिकामा काम गरिसकेकी छिन्। उनी कानुनकी ज्ञाता पनि हुन्। 

कमला देवीलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएपछि जो वाइडेनलाई अफ्रिकी–अमेरिकीको मत अत्याधिक आउने अपेक्षा गरिएको छ। 

कमला देवीको बुवा अफ्रिकी र आमा भारत मद्रासकी हुन्। आमा श्यामला गोपालन क्यान्सरकी डाक्टर र बाबु डोनाल्ड अर्थशास्त्रका प्राध्यापक हुन्। तर, कमलाको जन्म भएको ७ वर्षपछि नै बाबुआमाको सम्बन्ध बिच्छेद भएको थियो। 

कमलालाई उपराष्ट्रपतिको उम्मेदवार बनाएपछि डोनाल्ड ट्रम्पको दोस्रो पल्ट राष्ट्रपति बन्ने अभियानमा गम्भीर धक्का लाग्न सक्ने आंकलन गरिएको छ। कोरोना संक्रमणभन्दा पहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्रम्पको पक्षमा मतदान गर्न अमेरिकामा बसोबास गरिरहेका भारतीय समूदायलाई आग्रह गरेका थिए। मोदीको कार्यक्रममा भारतीय–अमेरिकीको ठूलो भिड लागेको थियो। 

तर, उपराष्ट्रपति पदमा कमला देवीको आगमनपछि भारतीय समूदाय विभाजित हुने बताइएको छ। यस्तै, अश्वेतप्रति अनुदार मानिएका ट्रम्पलाई कमला देवीको बुवा अफ्रिकीमूलको हुनुले पनि ठूलो धक्का दिन सक्ने विश्लेषण गरिएको छ। 

अमेरिकामा आउँदो नोभेम्बरमा राष्ट्रपति निर्वाचन हुँदैछ। 


रंगभेद विरोधी आन्दोलनले पाइन् मौका 

प्रहरीको ज्यादतीका कारण अश्वेत अमेरिकी जर्ज फ्लोइडको निधनपछि देशभर सुरु भएको रंगभेद विरोधी आन्दोलनपछि वाइडेनलाई अश्वेत महिलालाई उपराष्ट्रपति उम्मेदवार चयन गर्न दबाव थियो।

वाइडेनले ‘डिबेट’ का क्रममा उपराष्ट्रपतिमा महिलालाई नै स्थान दिने घोषणा गरेका थिए। सोही अनुरुप वाइडेनले शीर्ष डेमोक्र्याट महिला नेतृसँग अन्तर्वार्ता गरेका थिए। सुरुदेखि नै उपराष्ट्रपतिको दाबेदारमा अग्रस्थानमा रहेकी कमलालाई वाइडेनले ‘रनिङ्ग मेट’ चयन गरेका हुन्।

हुन त डेमोक्र्याटिक पार्टीमा अश्वेत तथा हिस्पेनिस अमेरिकनकाे बलियो पकड छ।

चुनौतिको पहाडमा छिन् कमला 

अमेरिकाको इतिहासमा यसअघि मात्रै दुईपटक महिला नेतृलाई राष्ट्रपतिका उम्मेदवारले अफ्नो ‘रनिङ मेट’का रुपमा चयन गरेका छन्। 

करिव १२ वर्ष अगाडी सन् २००८ मा रिपब्लिकनबाट सारा पालिन र सन् १९८४ मा डेमोक्रेटिक पार्टीबाट गेराल्डिन फेरारोलाई उपराष्ट्रपति उम्मेदवार बनाइएको थियो। तर उनीहरु दुवै चुनावमा विजयी हुन सकेनन्।

अश्वेतबाट अहिलेसम्म कुनै पनि महिलाले राष्ट्रपतिको उम्मेदवार जितेका छैनन्। यस्तै अमेरिकाले महिला राष्ट्रपति पनि पाएको छैन र महिला उपराष्ट्रपति पनि। 

यसपटक वाइडेन–कमलाले आउँदो नोभेम्बर ३ मा हुने चुनावमा रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति माइक पेन्सको सामना गर्नेछन्।

जो वाइडेन विजयी भएमा कमला अमेरिकाको उपराष्ट्रपति बन्ने पहिलो महिला र पहिलो अश्वेत तथा एसियन अमेरिकन महिला हुने छिन्।

वाइडेनले ट्वीट गरेर ह्यारिसलाई उपराष्ट्रपति उम्मेदवारका रुपमा चयन गर्न पाउनु आफ्ना लागि ठूलो सम्मानको कुरा रहेको बताएका छन्।

राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा मंगलबार भएको पत्रकार सम्मेलनमा ट्रम्पले ह्यारिसलाई ‘माइ नम्बर वान ड्राफ्ट पिक’ भनेर परिभाषित गरेका छन्।

कमला निडर योद्धा र देशको उकृष्ट सेवक रहेको वाइडेनले बताएका छन्। कमलाले आफ्नो दिवंगत छोरा बो वाइडेनसँग नजिक रहेर काम गरेको पनि वाइडेनले स्मरण गरेका छन्।

यता कमलाले ट्वीट गरेर वाइडेनले अमेरिकी नागरिकलाई एकतामा बाँध्न सक्ने बताएकी छिन्।  ‘जो वाइडेनले अमेरिकी नागरिकलाई एकतामा बाँध्न सक्नुहुन्छ, किनकी उहाँले आफ्नो सम्पूर्ण जीवन हाम्रा लागि समर्पित गर्नु भएको छ,’ उनले भनेकी छिन्।

राष्ट्रपतिका रुपमा वाइडेनले अमेरिकालाई अमेरिकीको सिद्धान्तमा उभ्याउने कमलाले बताएकी छन्।

अब कमलाले ट्रम्पका ‘रनिङ–मेट’ उपराष्ट्रपति माइक पेन्ससँग साल्ट लेकमा आउँदो अक्टोबर ७ मा ‘डिबेट’ गर्नेछिन्।

प्रकाशित मिति: : 2020-08-12 08:15:18

प्रतिकृया दिनुहोस्