एन्फाले गराएको ५३ जनाकाे कोरोना परीक्षण नेगेटिभ, एककाे पुन: परीक्षण गरिने

अखिल नेपाल फुटबल संघ (एन्फा) ले गराएको ५३ जनाकाे कोरोना भाइरसको पीसीआर परीक्षण रिपाेर्ट नेगेटिभ नतिजा आएको छ।

काेराेना परीक्षण गर्नेमा ३४ खेलाडी, ८ अफिसयल र १२ होस्टलका कर्मचारी गरि ५४ जना थिए। जसमा ५३ जनाको नेगेटिभ नजिता आएको छ भने एक जनाको पुन: परीक्षण गरिनेछ।

एन्फाका अनुसार मंगलबार कूल २९ जनाको परीक्षण गराएका मध्ये एक जनाको भने पुन: परीक्षण गरिने भएकाे हाे।

यसअघि सोमबार गरिएकाे ११ फुटबलरसहित २५ जनाको नतिजा नेगेटिभ आएको थियो।

एन्फाले भदौ १ देखि विश्वकप छनोटको तयारी गर्नका लागि फुटबल टिमका खेलाडी र अफिसियलको कोरोनाको परीक्षण गराएको थियो।

तर एसियन फुटबल कन्फेडेरेसन (एएफसी)ले बुधबार विश्वकप र एसियन कप छनोटका बाँकी खेलहरु सन् २०२१ सम्मका लागि स्थगित गरिएको जानकारी दिएसँगै नेपालको तयारी सुरु नै नभइ स्थगित भइसकेको छ।

दोस्रो चरणको विश्वकप छनोटअन्तर्गत नेपालले अब तीन खेल खेल्न बाँकी छ। ती सबै खेल नेपालले घरेलु मैदानमा खेल्नेछ।

नेपालले असोज २२ गते चाईनिज ताईपेसँग खेल्दा त्यसको ५ दिनपछिनै एसियाली पावर हाउस अष्ट्रेलियाको सामना गर्ने तालिका रहेको थियो। यस्तै समूह चरणको अन्तिम खेलमा नेपालले कात्तिक २७ गते जोर्डनसँग खेल्ने तालिका थियो।

समूह बी मा रहेको नेपाल पाँच खेलमध्ये एउटामा जित निकाल्दै ३ अङ्क जोडेर चौथो स्थानमा छ। नेपालले चाइनिज ताइपेईलाई हराएको थियो। अन्य चार खेलमा नेपाल पराजित भएको थियो।

प्रकाशित मिति: : 2020-08-13 16:16:33

प्रतिकृया दिनुहोस्