ओलम्पिक कमिटिका दुई जनामा कोरोना संक्रमण, दुई सुरक्षा गार्डकाे रिपाेर्ट आउन बाँकी

नेपाल ओलम्पिक कमिटी (एनओसी)का दुई जना कर्मचारीमा कोभिड १९ को संक्रमण पुष्टि भएको छ।

गत बुधबार गरिएको परिक्षणमा दुई जनाको कोरोना रिपोर्ट पाेजेटिभ आएको एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठले जानकारी दिए।

स्क्वासका एक जना प्रशिक्षकमा यसअघि  संक्रमण देखिएपछि एनओसीका कर्मचारीको कोरोना परीक्षण गरिएको थियो। गत बुधबार गरिएको परीक्षणमा दुई जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको उनले बताए। 

‘अस्ति स्क्वासका प्रशिक्षकलाई कोरोना भेटिएपछि यहाँको सबैको परीक्षण गराएका थियौं। जसम्ध्ये दुई जना भान्सामा काम गर्ने कर्मचारीमा कोरोना पुष्टि भएको हो। एकजना पोजेटिभ देखिएको चाहिँ हामीलाई चियाहरु ल्याउने भाइ हो,’ महासचिव श्रेष्ठले भने।

अब कमिटीमा पनि गराउने उनले बताए। ‘हामीसँग पनि संक्रमित सम्पर्कमा आउका छन्। अब ओलम्पिक कमिटीले पदाधिकारी र भर्खरै सम्पर्कमा आएकाहरुको संक्रमण परीक्षण गराउने तयारीमा छौं,’ उनले भने। 

यता एनओसीका थप दुई जनाको कोरोना परीक्षणको रिपोर्ट आउन बाँकी छ। ‘दुई जना कर्मचारीको रिपोर्ट आउन बाँकी नै छ। केही शंकास्पद देखिएपछि हामीले पुनः स्वाब परीक्षणको लागि पठाएका थियौं,’ महासचिव श्रेष्ठले भने। 

उनका अनुसार रिपोर्ट आउन बाँकी रहेका दुवै जना एनओसी भवनमा गार्डका रुपमा कार्यरत छन्। दुवै जना श्रीमान–श्रीमती रहेका छन्।

पछिल्लो समय कोरोनाको संक्रमण बढेको भन्दै ओलम्पिक कमिटीमा कार्यरत सबै कर्मचारीले शुक्रबारबाट घरमै बसेर काम गर्न थालेका छन्। 

यता कर्मचारीमै कोरोना देखिएपछि एनओसी अनिश्चित समयका लागि सिल गरिएको छ।

कोरोना संक्रमण फैलिएसँगै गत सोमबारबाट ओलम्पिकको केन्द्रिय कार्यालय पनि बन्द गरिएको थियो।
 

प्रकाशित मिति: : 2020-08-16 13:58:28

प्रतिकृया दिनुहोस्