बर्दिबास नगरपालिकाले आफैँ कोभिड–१९ परीक्षण गर्दै

रासस

जलेश्वर
सांकेतिक तस्बिर

महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकाले आजदेखि आफैँ कोभिड–१९ को परीक्षण शुरु गरेको छ । आफ्ना नगर क्षेत्रभित्रका जनताका लागि आफ्नै लगानीमा आरडीटी पीसीआर मेशिन गरिद गरी नगरपालिकाले अब आफैँले कोभिड–१९ को परीक्षण शुरु गरेको नगरप्रमुख विदुरकुमार कार्कीले बताए ।
    
नगर क्षेत्रभित्र पनि कोरोना समुदायस्तरमै फैलिएको भन्दै उनले सङ्क्रमणलाई नियन्त्रणमा लिन सबभन्दा पहिले सङ्क्रमितको सम्पर्कमा आएकालाई पहिचान गर्दै तिनको परीक्षणलाई प्राथमिकता दिएको बताए ।
    
'बर्दिबासबासी यसअघि स्थानीयस्तरमा कोरोना परीक्षणको व्यवस्था नहुँदा प्रादेशिक अस्पताल जनकपुरको भर परेका थिए', नगरप्रमुख कार्कीले भने, 'तर अब बर्दिबासको सङ्कलित स्वाब परीक्षण गर्न बाहिर पठाउनुपर्ने बाध्यता हटेको छ ।' पहिलापहिला कोरोना परीक्षणको रिपोर्ट आउन १५ दिन लाग्ने गरेको तर अब आफ्नै मेशिन भएपछि आजको भोलि नै रिपोर्ट आउने र दैनिक ८०० को स्वाब परीक्षण गर्न मिल्ने भएको उनले बताए ।
    
बर्दिबास नगरपालिका गत जेठ ५ गते नै आफैँ कोरोना मेशिन खरिद गर्ने निर्णय गरेअनुरुप मेशिन खरिद गरेर आजदेखि आफ्ना क्षेत्रका जनताको सेवामा जुटेको छ । 
 

प्रकाशित मिति: : 2020-08-28 14:48:44

प्रतिकृया दिनुहोस्