अरिंगालको परिक्रमा !

आज सखारै 
रानो लाई ‘चिल्न’ हिँडेका
एक हुल अरिंगालहरु 
मलिनो अनुहार
बोकेर खुमलटार फर्केछन् । 
अस्ति अस्ति पनि 
अरिंगालको झुण्ड झुण्ड 
मुठ्ठी बटारेर 
शंख पार्कबाट यसरी नै
हुँकार गर्दै  
हातमा हसिया र हथौडा बोकेर
बालुवाटारको गेटभित्र 
गजधम्म परेको ‘रानो अरिंगाल’लाई 
लखेट्न, 
उसको घाँटी निमोठ्न
हुलका हुल उडेको अरिंगालको बथान 
बालुवाटारको आकाशमा
फेरो लगाएर खुमलटार फर्केको थियो
यसपटक पनि त्यही भयो 
रानो अरिंगाल रानै रह्यो । 
सहरका आलिसान महलबाट उठेर
कोटेश्वर र खुमलटारको आदेश
शिरोपर गर्दै 
गोलोमा आगजनी गर्न

घाँटीमा घण्टी झुण्ड्याउन
मसाल र घण्टी बोकेर
सौर्य साथ उडेको अरिंगालको बथान
रानोको क्रुद्ध अनुहार देखेर
घाँटीमा घण्टी नबाँधी, 
अग्नि प्रज्ज्वलन नगरी 
स्खलित वीर्य बोकेर
भुनभुनाउँदै
शंखपार्कतिरै फर्केको खबर छ 
तपाईले देख्नुभयो चिसो पाइन्ट ?
बाढीले गाउँ बगाएको छ,
पहिरोले गाउँ लगेको छ
कोरोनाले 
सारा देश मृत जस्तै चकमन्न छ
अस्पतालका शैय्यामा
मानिसहरु जीवन मृत्युसँग जुधिरहेछन्
कतिले भेन्टिलेटरको अभावमा
जीवन गुमाइरहेछन्
तर
भ्रष्टाचारको आहालमा डुबेका
सत्ता स्वार्थमा लिप्त अरिंगालहरु 
भने हुलका हुल बाँधेर
भुन्भुनाउँदै 
कहिले खुमलटार,
कहिले बालुवाटार,
कहिले सिंहटार

फेरि रुम्जाटारको 
परिधिमा फन्को मारेर जनतालाई
आहत बनाइरहेछन्, 
तमासा देखाइरहेछन् । 
वोस्टन, अमेरिका । 

प्रकाशित मिति: : 2020-08-29 13:42:42

प्रतिकृया दिनुहोस्