कोरोनाका कारण विश्वका १ अर्ब ५० करोड विद्यार्थीकाे अध्ययन प्रभावित

संजोग आचार्य

न्युयोर्क

युनेस्को र विश्व बैंकको रिपोर्टअनुसार कोरोनाका कारण विश्वमा करिब १ अर्ब ५० करोड विद्यार्थी आफ्नो अध्ययनबाट प्रभावित भएका छन्। जसमा ३१ प्रतिशत अर्थात ४७ करोड विद्यार्थीले पढाईबाट बञ्चित हुनु परेको छ।  

पूर्वी तथा पश्चिम अफ्रिकामा गरिबीका कारण ४९ प्रतिशत विद्यार्थी अनलाइन शिक्षाबाट पनि टाढा भएका छन्। ल्याटिन अमेरिकी देशमा तुलनात्मक रूपमा स्थिति केही राम्रो छ। यहाँ ९ प्रतिशत विद्यार्थी मात्र अनलाइन शिक्षाको सुविधाबाट बञ्चित छन्। 

विश्वको १ सय १० देशमा प्रि–प्राइमरी, प्राइमरी र माथिल्लो कक्षाका विद्यार्थीहरू कोरोना संक्रमणमा कसरी अध्ययन गरिरहेका छन् भनेर केही समयअघि अनुसन्धान भएको थियो। यसमा इन्टरनेटबाट अध्ययन गर्ने विद्यार्थीको संख्या टेलिभिजन र रेडियाभन्दा बढी भएको पाइएको छ। 

प्रि–प्राइमरी लेवलमा ४२ प्रतिशत, प्राइमरीमा ७४ प्रतिशत तथा माथिल्लो लेवलमा ७७ प्रतिशत विद्यार्थी इन्टरनेटबाट पढिरहेका छन्। 

अनलाइन शिक्षाको फाइदा शहरी क्षेत्रका विद्यार्थीले मज्जाले उठाइरहेका बेला गाउँमा बसोबास गर्ने विद्यार्थीमा यसको पहुँच न्युन पाइएको छ। रिपोर्ट अनुसार गाउँमा बसोबास गर्ने विद्यार्थीमा ४ मध्ये १ जनाले मात्र अनलाइन शिक्षा प्राप्त गरेका छन्। तीन जनालाई अनलाइन सुविधा प्राप्त छैन। यसमा गरिब विद्यार्थीको संख्या उच्च छ। 

कम आय भएको देशमा ४७ प्रतिशत तथा मध्य आय भएको देशका ७४ प्रतिशत विद्यार्थी शिक्षाको उज्यालोबाट बञ्चित छन्। 

नेपालमा ३५ हजार २ सय २२ प्रि–प्राइमरी, प्राइमरी तथा सेकेण्डरी स्कुल बन्द भए जस्तै भारतमा पनि कोरोनाका कारण १५ लाख स्कुल बन्द छ। 
युनिसेफ र डब्ल्यूएचओ (विश्व स्वास्थ्य संगठन) को रिपोर्टअनुसार विश्वको हरेक पाँच स्कुलमध्ये दुई स्कुलमा सफा पिउने पानी उपलब्ध छैन। करिब ८१ करोड बालबालिकासँग ह्याण्डवास र सेनिटाइजरको सुुविधा छैन। 

यसमा ३५ करोड बालबालिकासँग हात धुन साबुन भए पनि ४६ करोडसँग पानी उपलब्ध छैन। रिपोर्टका अनुसार हरेक तीन स्कुलमध्ये एक स्कुलमा पिउने पानीको पर्याप्त व्यवस्था छैन। 

सबैभन्दा बढी दक्षिण एसियामा १४ करोड ७० लाख बालबालिका शिक्षाबाट बञ्चित भएका छन्। यसपछि पूर्वी एसियामा ८ करोड बालबालिका शिक्षाबाट बञ्चित छन्।

प्रकाशित मिति: : 2020-08-31 12:07:06

प्रतिकृया दिनुहोस्