कोरोना संक्रमण रोकथाम र उपचारप्रति सरकार अझै गम्भीर भएन: कांग्रेस

नेपाली कांग्रेसले कोरोना संक्रमण रोकथाम र उपचारको आवश्यक तयारीप्रति सरकार अझै गम्भीर नभएको आरोप लगाएको छ। 

कांग्रेसका सह–महामन्त्री डा प्रकाश शरण महतले बिहीबार एक विज्ञप्ति निकाल्दै लकडाउन र निषेधाज्ञा गर्ने र हटाउने निर्णय ठोस अध्ययनका आधारमा नभएर हचुँवामा हुने गरेको बताएका हुन्।

‘अन्य तयारीको अभावमा कोरोना नियन्त्रणमा सरकारको लकडाउन र निषेधाज्ञाप्रतिको निर्भरता बढ्दो छ। यसको निरन्तरताले आर्थिक–सामाजिक संकट चुलिदो छ भने संक्रमण बढ्ने क्रम कम भएको छैन । कतिपय ठाउँहरुमा समुदाय स्तरमा समेत संक्रमण फैलिएको छ । निषेधाज्ञा लगाउने÷नलगाउने निर्णय स्थानीय प्रशासनहरुले गरेको देखाएर सरकार कोरोना रोकथाम र उपचारको मूल जिम्मेवारीबाट पन्छिन खोज्दैछ,’ उनले भनेका छन्। 

यस्तै कांग्रेसको तर्फबाट कोभिड–१९ अनुगमन समितिले केही दिन अगाडि १३ वुँदे ध्यानाकर्षण सहित सरकारसँग कोरोना रोकथाम, उपचार व्यवस्थापन र आर्थिक—सामाजिक संकट कम गर्न अल्पकालीन र दीर्घकालीन कार्ययोजना सार्वजनिक गर्न माग गरेको थियो। तर, सरकारसँग अझै जनतालाई आश्वस्त पार्ने कुनै तयारी नदेखिएको पनि विज्ञप्तिमा उल्लेख छ। 

कांग्रेसले तत्काल कोरोना संक्रमणलाई नियन्त्रण गर्न, उपचारको समुचित व्यवस्था गर्न र नागरिकहरुको आर्थिक सामाजिक जीवनमा देखा परेको कष्टलाई कम गर्न तत्काल अल्पकालीन र दीर्घकालीन कार्ययोजना सार्वजनिक गर्न फेरि पनि माग गरेको छ।

प्रकाशित मिति: : 2020-09-03 13:36:59

प्रतिकृया दिनुहोस्