पाकिस्तानमा महिला पत्रकारको गोली हानेर हत्या

एजेन्सी

इस्लामाबाद

पाकिस्तानमा शनिबार एक महिना पत्रकारलाई गोली हानेर हत्या गरिएको छ। साहिना साहिन सरकारी च्यानल पाकिस्तान टिभीमा कार्यरत थिइन। 

केही दिनअघि मात्र उनको सरुवा बलुचिस्तानस्थित तुरबतमा गरिएको थियो। 

साहिनभन्दा अघि गत वर्षको मे महिनामा उरुज इकबाल नाम गरेकी महिला पत्रकारको पनि गोली हानि हत्या गरिएको थियो। पाकिस्तानको पत्रकार महासंघले १९९२ यता देशमा २८ वर्षको अवधिमा ६१ पत्रकारको हत्या भइसकेको बताएको छ। 

साहिन पहिले राजधानी इस्लामाबादमा एउटा निजी टिभीमा काम गर्थिन। इस्लामाबादमा केही समय काम गरकी उनलाई बलुचिस्तान पठाइएको थियो। 

उनी स्थानीय एक पत्रिकाको सम्पादक पनि थिइन। २७ वर्षीय साहिनले क्वेटा विश्वविधालयबाट पिएचडी पनि गरिरहेकी थिइन। 

साहिनको हत्या उनको घरमा प्रवेश गरेर गरिएको थियो। प्रहरीका अनुसार अभियुक्तले घरको ढोका खोल्ने वित्तिकै उनीमाथि गोली प्रहार गरेका थिए। साहिनलाई पाँच गोली लागेको थियो। 

प्रहरीले अर्को एक अज्ञात मान्छेले साहिनलाई तत्काल कारमा अस्पतालसम्म लगेको तर केही समयपछि उ पनि गाडी छोडेर भागेको बताइएको छ। प्रहरीले घटनाको छानवीन भइरहेको बताएको छ। साहिनको पाँच महिनाअघि बिहे भएको थियो। 

बलुच सरकारले साहिनको निधनप्रति दुःख व्यक्त गरेको छ।

प्रकाशित मिति: : 2020-09-06 14:18:39

प्रतिकृया दिनुहोस्