विश्वमा थोरै मानिस यस्ता छन्, जो न्यायको पक्षमा दृढ्ताका साथ उभिने गर्छन्। उनीहरू अन्यायविरुद्ध आवाज उठाउँछन्। न्यायको पक्षमा उभिने मात्र होइन, यसको प्रवाहलाई अन्यायमा परेकाको हकहितसम्म पुर्याउन योगदान दिन्छन्।
यस्तै थोरै मानिसभित्र पर्छिन्, अमिका जर्ज। महिला अधिकार, विशेष गरेर स्कुल जाने किशोरीमा देखिने महिनावारीको समस्याको विषयमा उनी आवाज उठाउँदै आइरहेकी छिन्।
बेलायतको उत्तरी लन्डनमा बसोबास गर्ने अमिकाको उमेर २० वर्ष मात्र छ। तर, उनी मानवीय कार्यका लागि कलिलो उमेरमै विश्वव्यापी नाम भइसकेकी छिन्। उनी #फ्रिपिरियड्स अभियान कि संस्थापक हुन्। यसले कम आय भएका परिवारका महिलालाई महिनावारीमा प्रयोग हुने सामाग्री नि: शुल्क प्रदान गर्ने सरकारसँग घचघचाउने अभियानको नेतृत्व गर्ने गरेको छ। उनको यहिँ अभियानका कारण बेलायतमा कुनै पनि महिलाले गरिबीका कारण महिनावारी हुँदा प्रयोग गरिने सामाग्रीबाट बञ्चित हुनु परेको छैन।
अमिकाले यो अभियानको सुरुवात २०१७ देखि गरेकी हुन्। यतिबेला उनको उमेर १७ वर्ष मात्र थियो। एकदिन अफ्रिकाको एउटा संस्थाको बारेमा अध्ययन गर्ने क्रममा अमिका स्तब्ध भएकी थिइन्। जब उनले गरिबीका कारण महिलाहरुले महिनावारीमा प्रयोग हुने सामाग्री प्राप्त गर्न नसक्दा उच्च जोखिममा परेको कुरा थाहा पाइन। उनले यहीँबाट प्रण गरेकी थिइन्, बेलायतमा गरिबीका कारण महिनावारीको सामान प्रयोग गर्नबाट बञ्चित महिलाहरुको समस्यालाई जरैदेखि उखेलेर फ्याक्ने।

पहिले बेलायतभित्र मात्र यस्तो लक्ष्य बनाएकी अमिका अहिले विश्वव्यापी अभियानमा छिन्। उनको अहिलेको उद्धेश्य भनेको महिनावारीको घृणालाई उखेलेर फ्याक्नु हो।
उनले यसका लागि गत वर्ष २ हजारभन्दा बढी मानिसको उपस्थितिमा बेलायती प्रधानमन्त्रीको निवास डाउनिङ स्ट्रीटमा शान्तिपूर्ण प्रदर्शनको नेतृत्व गरिसकेकी छिन्। उनको यहीँ प्रयासका कारण बेलायत सरकारले गरिब परिवारका महिलाहरुका लागि महिनावारी गरिबी निवारण कोष सञ्चालनमा ल्याएको थियो। उनले शिक्षामा सबैको समान पहुँच पुर्याउन कानुनी अभियान पनि सुरु गरिसकेकी छिन्।
महिनावारी गरिबी यस्तो अवस्था हो, जहाँ महिलाहरू महँगो महिनावारीका उत्पादनहरू वहन गर्न सक्दैनन्। विश्वभरि हेर्ने हो भने महिनावारी गरिबी र गरिबीमा कुनै अन्तर देखिदैन। यसले महिलाको शिक्षामा असर त पुर्याइरहेको छ नै, उनीहरूको क्षमतामा पनि क्षीण हुँदै गइरहेको छ। महिनावारी गरिबी लैङ्गिक असमानताको मुद्दा पनि हो ।

यहिँ मुद्दा अमिकाले बेलायतामा पनि देखेकी छिन्। उनले यस विषयमा खुलेर वकालत गर्दै आइरहेकी छिन्,‘धेरै जसो केटीहरु महिनावारीका उत्पादनहरू किन्न असमर्थ छन्। त्यसैले उनीहरु कक्षा छुटाउने गरिरहेका छन्। यो समस्यालाई निस्तेज पार्न सरकारले नि: शुल्क महिनावारी कार्यक्रम प्रस्तुत गर्नु अनिवार्य भइसकेको छ।’

करिब दुई वर्षको अभियान र अथक प्रयासपछि उनलाई सफलता प्राप्त भएको थियो, जब मार्च २०१९ मा कूलपति फिलिप ह्यामन्डले बेलायतको अधिकांश माध्यमिक विद्यालयमा गरिब किशोरीलाई सेनेटरी उत्पादनहरु निःशुल्क प्रदान गर्ने घोषणा गरे।

अमिकाले एक अन्तर्वार्तामा भनेकी छिन्– त्यो खबर सुनेको दिन म खुसीले धेरै रोएकी थिएँ।
उनले यस्ता मुद्दामा युवाहरुको सक्रियता महत्वपूर्ण हुने भनेर 'भोग' पत्रिकामा लेखेकी छन्। उनले 'द गार्डियन', 'द टेलिग्राफ' मा पनि कसरी स्कटल्याण्ड सरकारले गरिब विद्यार्थीलाई निःशुल्क सेनेटरी उत्पादन प्रदान गर्ने प्रतिबद्धतालाई अनुकरण गर्यो भनेर लेखेकी छिन्।

धेरै युवतीहरुले प्याड र टेम्पनहरू किन्न नसकेर कपडा, ट्वाइलेट रोल वा एउटै कपडा धेरै दिनसम्म प्रयोग गर्दा रगतको टाटाहरु लुगामा लाग्ने गरेको जस्ता कुरालाई उनले धेरै ठाउँमा उल्लेख गरेकी छिन्।
स्कुले किशोरीहरुको यस्तै समस्याको विषयमा आवाज बुलन्द गर्दै आएकी अमिकालाई २०१८ मा टाइम्स पत्रिकाले प्रभावशाली किशोरीको सूचिमा समावेश गरेका थियो। दि बिग इस्यू टप– १०० चेन्जमेकर र २१ वर्ष मुनिका 'टीन भोग– २१' को सूचिमा पनि उनलाई समावेश गरिएको थियो। उनले २०१८ मा बिल र मेलिन्डा गेट्स फाउन्डेसन गोलकिपर अभियान पुरस्कार पनि जितेकी थिइन्, जुन न्यूयोर्क सहरमा एक समारोहका बीच प्रदान गरिएको थियो।

क्याम्ब्रिज विश्वविद्यालयमा इतिहास पढ्दै गरेकी अमिका २०२१ को जनवरीमा पहिलो पुस्तक प्रकाशन गर्ने तयारीमा छिन्।
अमिका भन्छिन्, ‘मैले मात्र होइन महिला र अन्य किशोरीले पनि बोल्नुपर्छ। हामीलाई थाहा छ, हामी मिलेर नै एक अर्काको लागि कुराहरू राम्रो बनाउन सक्छौं। हामीले दिनहुँ धेरै अवरोध झेल्नु परिरहेको छ, चाहे त्यो भेदभाव नै किन नहोस्। आइपर्ने समस्या समाधान गर्न र एक–अर्काका लागि उभिन आत्मविश्वास एकदमै जरुरी पर्छ।’

अमिकाको कार्य हरेक महिलाका लागि अहिले प्रेरणा बनेको छ। उनले आफ्नो देशको महिलाको समस्या सम्बोधन गर्न आवाज उठाइन् र महिलाहरुलाई आफ्नो अधिकारका लागि बोल्नु पर्छ भनेर प्रोत्साहन पनि गरिन्।
महिनावारी गरिबी विश्वव्यापी मुद्दा हो, जुन सबै देशका गरिब महिलाले भोग्दै आइरहेका छन्। अमिकाले त आफ्नो देशमा असम्भवलाई सम्भव बनाएर देखाइन्। के तपाई हामी अमिकाको पद्चाप पछ्याउन सक्छौं?
१७ वर्षको उमेरमै ‘महिनावारी’ विभेद विरुद्धको अभियान #FreePeriods #AmikaGeorge #PeriodPoverty pic.twitter.com/A50PLhqfC0
— BL-News | Nepali (@breaknlinksnp) September 7, 2020
नारी शक्ति श्रृंखला
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया