पहिराले पाँच घर उच्च जोखिममा

रासस

लमजुङ
सांकेतिक तस्बिर

डुम्रे–बँेसीशहर सडकखण्ड नजिकै लमजुङ बेँसीशहर नगरपालिका–२ बोहोरा बेँसी गाउँका पाँच घर पहिराको उच्च जोखिममा छन्। 

घर तल गत साउन महिनाको पहिलो सातादेखि जान थालेको पहिरो गएको थियो। फेरि बुधबार साँझदेखि परेको अविरल वर्षासँगै आज बिहानदेखि पहिरो जान थालेपछि ती घर उच्च जोखिममा परेको वडाध्यक्ष गणेश कँडेलले बताए।

उनका अनुसार रामजी बोहोरा, सुरेन्द्र बोहोरा, बाबुराम बोहोरा, बिबी बोहोरा र बुद्धि बोहोराका घर उच्च जोखिममा छन्। घर तल पहिरो गएको र बेलाबेला वर्षा हुँदासमेत अलिअलि पहिरो जाने गरेको वडाध्यक्ष कँडेलको भनाइ छ। घर वरिपरि एकएक मिटरको जमिन चर्किएको र ठूलो वर्षासँगै घर नजिकै गइरहेको पहिराले घर नै तान्ने सम्भावना रहेको स्थानीयवासीको भनाइ छ। बोहोरा बेँसी गाउँ नजिकैबाट करिब २०० मिटर लामो पहिरो गत साउनदेखि नै  जान थालेको छ। पहिराले पटकपटक डुम्रे–बेँसीशहर सडकसमेत अवरुद्ध बनाउँदै आएको छ। 

सडकमाथि पहिरो आएको नजिकै रहेका तीन घरलाई गत महिना नै स्थानान्तरण गरिएको छ। नगरपालिकाले तत्कालका लागि प्रत्येक परिवारलाई रु ३० हजारका दरले आर्थिक सहयोगसमेत गरिसकेको वडाध्यक्ष कँडेलले बताए।
 

प्रकाशित मिति: : 2020-09-10 12:38:21

प्रतिकृया दिनुहोस्