बाहिरिने असफल प्रयासपछि लिओनल मेसी पहिलोपटक बार्सिलोनाबाट खेलेका छन्।
मेसी शनिबार राति भएको तेस्रो डिभिजनको जिम्नास्टिक डी तारागोनासँगको मैत्रीपूर्ण खेलमा सहभागी भएका हुन्। तर, उनले गाेल भने गर्न सकेनन्।
३३ वर्षका मेसीले गएको अगस्ट २५ मा बार्सिलोना छोड्न चाहेको भन्दै क्लबलाई पत्र बुझाएका थिए। मेसी प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी जाने चर्चा चलेको थियो।
सिटीले मेसीका लागि आफ्ना तीन खेलाडी गाब्रियल जिसस, बेर्नार्डो सिल्भा र एरिक गार्सियालाई दिने प्रस्ताव गरेको थियो। तर, उनले क्लब छोड्न चाहेको बताएपछि अघिल्लो हप्ता लालिगाले बार्सिलोना र मेसीबीचको ७० करोड युरो अर्थात ८२.३ करोड डलरको रिलिज क्लज लागू हुने बताएको थियो। उक्त रकम तिर्न नसकेपछि उनी बार्सिलोनामै बस्न बाध्य भएका थिए।
अब मेसी अर्को समरसम्म क्याम्प नाउमा हुने छन्। त्यसपछि मेसीको बार्सिलोनाको बसाई अवधि भने क्लबमा आउने नयाँ अध्यक्षमा निर्भर रहनेछ। बार्सिलोनाले सन् २०२१ को मार्चमा नयाँ नेतृत्व छान्दैछ।
सोही निर्वाचनबाट वर्तमान अध्यक्ष जोसेप मारिया बर्टोमेउलाई प्रतिस्थापन गर्ने व्यक्तिमा मेसीको भविष्य निर्भर रहनेछ। उनी पुन अध्यक्षमा चुनिन चाहन्छन्। मेसीको बहिर्गमनले भएकाे भए नेतृत्वलाई अप्ठ्यारो पर्न सक्ने थियाे। उनले मेसीका बुवासँग पनि लगातार कुरा गरिरहेका थिए।
यद्यपी शनिबार भएकाे खेलमा बार्सिलोनाले ३–१ गाेल अन्तरकाे जित हात पारेकाे छ।
बार्सिलोनाको जितमा ओस्मान डेम्बेले, एन्टोनी ग्रिजम्यान र फिलिप कोन्टिन्होले गोल गरेका हुन्।
डेम्बेले खेलकाे छाैठाैं मिनेटमै गाेल गरेका थिए। त्यसपछि १७ औं मिनेटमा ग्रिजम्यानले पेनाल्टीमा गाेल गरेका थिए। तर, ३१ औं मिनेटमा तारागोनाका जाभिअर बाेनिलाले गाेल गर्दै खेल २– १ काे स्थितमा ल्याए।
तर, खेलकाे ५१ मिनेटमा कोन्टिन्होले पेनाल्टीमा गाेल गर्दै ३– १ काे जित दिलाए।