१०० रुपैयाँको ‘केमो इन्जेक्सन’ दिन ५८ हजार एम्बुलेन्स भाडा

भोलिका दिन बिरामीको उपचार खर्च र मृत्युदर बढ्नसक्छ

२८ भदौ, काठमाडौं । सुर्खेतबाट एक अभिभावक क्यान्सरको उपचार गराइरहेको आफ्ना सन्तानलाई ‘केमो इन्जेक्सन’ लगाउन गत साता कान्ति बाल अस्पताल, महाराजगञ्ज आइपुगे ।

हरेक महिना अनिवार्य लगाउनुपर्ने केमो इन्जेक्सन कान्ति अस्पतालबाहेक अन्यत्र पाइँदैन । कोरोना संक्रमण रोकथामका लागि भन्दै काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा निषेधाज्ञा भएका कारण उनीसामू एम्बुलेन्समा आउनु बाहेक अर्को विकल्प रहेन । १०० रुपैयाँँ पर्ने इन्जेक्सनकै लागि काठमाडौं आएका उनले एम्बुलेन्स भाडा मात्र ५८ हजार रुपैयाँ तिर्नुपर्‍यो ।

उपचारमा संलग्न डा. सुधीर सापकोटा भन्छन्, ‘यो त एउटा प्रतिनिधि घटना मात्र हो, लकडाउनपछि यो अवस्था भोग्ने बिरामीको संख्या दर्जनौं छ ।’

कतिपय त अस्पतालसम्म पुग्दै सक्दैनन् । अस्पतालको तथ्यांकले पनि त्यही बताउँछन् । कोरोना महामारी सुरु नहुँदासम्म कान्ति अस्पतालमा दैनिक हजार हाराहारीमा बिरामी अस्पताल पुग्थे । यसरी अस्पताल पुग्नेहरुमा ओपिडीका बिरामी धेरै हुन्थे ।

कडाउन अवधिमा यो संख्या घटेर १०० हाराहारी पुगेको कान्ति बाल अस्पतालका निर्देशक डा. कृष्ण पौडेल बताउँछन् ।

यो तथ्यांकले फलोअप र नयाँ रोग पहिचान गर्न आउने बिरामी घटिरहेको प्रष्ट हुने चिकित्सकहरु बताउँछन् । ‘यातायातका साधन नचलेर मात्र होइन, अस्पतालबाट कोभिड–१९ सर्ने डरले मानिसहरु रोग सहेर घर बसिरहेका छन्’ वरिष्ठ न्यूरो सर्जन डा. बसन्त पन्त भन्छन्, ‘समयमै रोग पहिचान नहुनु भनेको उपचार खर्च बढ्नु मात्र होइन, निको हुने सम्भावना कम हुनु पनि हो ।’

प्रकाशित मिति: : 2020-09-14 00:18:56

प्रतिकृया दिनुहोस्