चीनका लागि अमेरिकी राजदूतले दिए राजीनामा

एजेन्सी

काठमाडौं

 

चीनका लागि अमेरिकी राजदूत टेरी ब्रानस्टाडले राजीनामा दिने भएका छन्।

ब्रानस्टाडले नोभेम्बर महिनामा अमेरिकामा हुन लागेको राष्ट्रपति निर्वाचनअगावै बेइजिङ छोड्ने अपेक्षा गरिएको  सीएनएनले खबर लेखेको छ।

अमेरिका र चीनबीच अनेकौं मोर्चामा तनाव बढ्दै जाँदा यो घोषणा आएको हो । 

चीन सरकारले चीनमा रहेका वरिष्ठ अमेरिकी कूटनीतिकर्मी र अधिकारीमाथि थप नियन्त्रण लगाउने घोषणा शुक्रवार गरेको छ । वाशिङटनले सेप्टेम्बर ३ मा बेइजिङका कूटनीतिकर्मीमाथि त्यस्तै नियन्त्रण लगाएको थियो । 

सोमवारै अमेरिकाका परराष्ट्रमन्त्री माइक पोम्पेओले ब्रानस्टाडलाई अमेरिकी जनताको प्रतिनिधित्व गरेकोमा धन्यवाद दिएका छन् ।

पोम्पेओले ब्रानस्टाडको राजीनामाको कारण खुलाएनन् र उनको उत्तराधिकारीका बारेमा पनि केही बताएनन् । 

सन् २०१६ मा चुनाव जितेपछि ट्रम्पले राजदूत बनाएका आरम्भतिरका व्यक्तिमा ब्रानस्टाड पनि पर्छन् । 

त्यतिखेर उनी आयोवा राज्यका गभर्नर थिए र उनलाई सार्वजनिक नीति, व्यापार तथा कृषिमा अनुभवका साथै चीनका राष्ट्रपति सी चिनफिङसँगको लामो सम्बन्धका कारण राजदूत बनाइएको थियो । 

ब्रानस्टाडलाई राजदूत बनाइँदा बेइजिङले स्वागत गरेको थियो । त्यतिखेर चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लु काङले उनलाई चिनियाँ जनताका पुराना मित्र भनेका थिए । 

तर ब्रानस्टाडको कार्यकालमा अमेरिका र चीनको सम्बन्ध बिग्रँदै गयो । अमेरिकाबाट फाइदा लुटेर चीनले प्रगति गरेको भनी ब्रानस्टाडले एक आलेख प्रकाशन गर्न खोज्दा पिपुल्स डेलीले छाप्न मानेको थिएन ।

प्रकाशित मिति: : 2020-09-14 15:53:33

प्रतिकृया दिनुहोस्