वाइडेनलाई ट्रम्पको जवाफः मैले उत्तर कोरियासँगको सम्भावित युद्व रोकेँ

प्रतिद्धन्द्धी जो वाइडेनले आफूमाथि लगाएको आरोपको खण्डन गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन्, ‘मैले अमेरिकालाई युद्वबाट जोगाएको छु।’

अमेरिकामा राष्ट्रपतिको चुनाव नजिकिँदै जाँदा आरोप–प्रत्यारोपको सिलसिला सुरु भएको छ। अहिले सबैभन्दा धेरै विपक्षीको निसानामा राष्ट्रपति ट्रम्प छन्। ट्रम्पमाथि उनको ४ वर्षे कार्यकालको समीक्षा सुरु भएको छ। 

ट्रम्पले देशलाई युद्वको मुखमा लगेको वाइडेनको आरोपका बीच अमेरिकी राष्ट्रपतिले यस कुराको खण्डन गरेका छन्। उनले उत्तर कोरियाको उदाहरण प्रस्तुत गर्दै अमेरिकी मिडियालाई बताएका छन्, ‘मलाई लाग्छ वाइडेनको दिमाग ठिक छैन। मैले किम जोङ उलसँग कुरा गरेर सम्भावित युद्वलाई रोकेको जगजाहेर छ।’

ट्रम्प राष्ट्रपति नियुक्त हुँदा अमेरिका र उत्तर कोरियाबीच युद्वको स्थिति थियो। तर, ट्रम्पले वार्ताको अगुवाई गरे। उनी उत्तर कोरिया पुगेर वार्ता गर्ने पहिलो अमेरिकी राष्ट्रपति हुन्। 

ट्रम्पले राष्ट्रपतिको सपथ लिनुअघि अमेरिका र उत्तर कोरियाको सम्भावित युद्वको विषयलाई लिएर धेरै समाचार पनि छापिएका थिए। तर, ट्रम्पले राष्ट्रपतिको कार्यकाल सम्हालेको दुई वर्षपछि कोरियासँग ३ पल्ट वार्ता गरे। 

उत्तर कोरियासँगको मुद्धालाई लिएर वाइडेन आक्रामक देखिन्छन्। उनले उत्तर कोरियाका शाषक किम जोङ उललाई मूर्ख र बेविचारीको संज्ञा दिइसकेका छन्। यसको प्रतिउत्तरमा किमले पनि वाइडेनलाई ‘मूर्ख र सामान्य ज्ञान नभएको मान्छे’ को संज्ञा दिएका थिए। 

यसै महिना मनोनयन दर्ता गरेपछि वाइडेनले आफू राष्ट्रपति नियुक्त भए ‘तानाशाह’ ले टाउको उठाउन नपाउने बताएका थिए। उनले उत्तर कोरियाको प्रतिबन्धलाई कडा पारिने र आफ्ना सहयात्रीहरू सँगको सम्बन्ध अझ मजबुत बनाउने बताएका थिए। उनले प्याङ्योङलाई साइजमा ल्याउन चीनलाई दबाब दिने स्पष्ट पारेका थिए। 

बाराक ओबामाको कार्यकालमा उपराष्ट्रपति हुँदा वाइडेनले नै कोरियालाई आर्थिक र सैन्य दबाब दिन सुझाव दिएका थिए। 

सन् २०१८ यता ट्रम्पले कोरियाली शाषकसँग सम्बन्ध राम्रो बनाएको दावी गरिएको छ। अमेरिकासँग पहिलेको तुलनामा सम्बन्धमा केही सुधार देखिएपनि कोरियाले वर्षमा ६० भन्दा बढी न्युक्लियर बम बनाउन छोडेको छैन। 

तर, ट्रम्पले दोस्रो कार्यकालमा आफू विजयी भए कोरियासँग राम्रो वातावरणमा वार्ता गर्न सकिने र उसलाई सशस्त्र न्युनीकरणको मार्गमा डोर्याउन सकिने दावी गरेका छन्। 

प्रकाशित मिति: : 2020-09-15 00:13:04

प्रतिकृया दिनुहोस्