हिमाल चढ्न विशेष विमानमा काठमाडौं आइपुग्यो बहराइनका राजकुमारको टोली

बहराइनका राजपरिवारका सदस्यसहित हिमाल चढ्ने उद्देश्यले १८ जनाको टोली विशेष विमानबाट बुधबार काठमाडौं आएको छ।

विमान आज बिहान सवा ११ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो।

बहराइनस्थित नेपाली राजदूतावासका अनुसार उक्त टोली गए राति साढे १२ बजे शेख ईशा एयरबेसबाट विशेष विमान चढेर नेपाल प्रस्थान गरेको थियो।

टोलीमा बहराइनको डिफेन्स फोर्समा कार्यरत १५ जना बहराइनी तथा ३ जना बेलायती नागरिक छन्।

‘लगभग २ महिनाको कार्यक्रमसहित नेपाल प्रस्थान गरेको सो टोलीले लोबुचे र मनास्लु हिमाल आरोहणलाई पूर्वतयारीको रूपमा लिँदै सन् २०२१ मा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने अभिलाषा लिएको छ,’ दूतावासको विज्ञप्तिमा भनिएको छ।

उक्त टोलीलाई आरोहणका लागि नेपाल आउन दिने प्रस्ताव सम्बन्धमा भदौ १४ गते नेपाल सरकारले निर्णय गरेको थियो।

पर्वतारोहणमा सहभागी हुने सदस्यहरू तथा विमानको चालक दलका सदस्यहरू सबै जना पछिल्लो १५ दिनदेखि स्व: क्वारेन्टिनमा थिए। कोभिड-१९ संक्रमण भए/नभएको सम्बन्धमा परीक्षण पश्चात सबैजना कोरोना संक्रमण नेगेटिभ रहेका छन्। उक्त टोलीले नेपाल सरकारले निर्धारण गरेको स्वास्थ्य सम्बन्धी सम्पूर्ण पालना गर्नेछ।

बहराइनका राजकुमारको टोली नेपाल आएर हिमाल आरोहण गरेमा लकडाउनपछिको पहिलो हिमाल आरोहण दल हुने छ।

अनुमति नपाएका विदेशी नागरिक र नियमित उडान बन्द गरेकाले हिमाल आरोहण अहिलेसम्म ठप्प छ। 

यद्यपी सरकारले भोलिदेखि पर्यटन क्षेत्रसमेत खुला गर्ने निर्णय गरिसकेको छ।

प्रकाशित मिति: : 2020-09-16 12:03:54

प्रतिकृया दिनुहोस्