आफ्नो पक्षमा सडक प्रदर्शन नगरिदिन समर्थकलाई घिसिङकाे आग्रह

नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो पक्षमा सडक प्रदर्शन नगरिदिन समर्थकलाई आग्रह गरेका छन्।

नेपालमा लामो समयदेखि भइरहेको लोडसेडिङ अन्त्य गर्दै लोकप्रिय बनेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चारवर्षे कार्यकाल सकिएको छ।

वर्षौँसम्म घाटामा चलेको प्राधिकरणलाई नाफामा पुर्‍याएका घिसिङलाई अर्को एक कार्यकालका लागि नियुक्त गर्नुपर्ने माग राखेर केही दिनयता राजधानी काठमाडौंसहितका विभिन्न शहरमा प्रदर्शनहरु भइरहेका छन्।

घिसिङले शनिबार विज्ञप्ति जारी गर्दै कोरोना महामारीले नेपाल पनि आक्रान्त भएका बेला सडकमा भिडभाड गरेर प्रदर्शन नगरीदिन आग्रह गरेका हुन्।

‘विश्वव्यापी रुपमा फैलिएको कोभिड—१९ का कारण नेपाल आक्रान्त भएको बेला मलाई निरन्तरता दिनुपर्ने माग राखी महामारीको संवेदनशील अवस्थामा सडकमा भिडभाड गरी प्रदर्शन नगरिदिनुहुन सबैलाई हार्दिक अनुरोध गर्दछु’, घिसिङद्वारा जारी विज्ञप्तिमा भनिएको छ। 

उनले प्राधिकरणको कार्यकारी निर्देशकका लागि सरकारले उचित समयमा आवश्यक निर्णय लिने आशा पनि व्यक्त गरेका छन्।

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा मेरो पुनर्नियुक्तिको माग गर्दै केही दिनदेखि संघीय राजधानी काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाउँमा भइरहेको प्रदर्शनप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। निरन्तरता दिने सम्पूर्ण अधिकार सरकारमा निहित भएकाले यस विषयमा उपयुक्त समयमा आवश्यक निर्णय हुने नै छ’, घिसिङले भनेका छन्।

उनले सरकारले आफूलाई कार्यकारी निर्देशक नियुक्त गर्दा दिएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरी चार वर्षे कार्यकाल पूरा गरेको बताएका छन्।

प्राधिकरणको कार्यकारी नेतृत्वको निरन्तरता वा परिवर्तन नियमित एवं स्वाभाविक प्रक्रिया भएकाले यसलाई हामी सबैले आत्मसाथ गर्नुपर्ने उनको भनाइ छ।

प्रकाशित मिति: : 2020-09-19 12:35:02

प्रतिकृया दिनुहोस्