स्वास्थ्य केन्द्रमा पाँच शय्याको कोरोना अस्पताल

रासस

गलकोट

बागलुङ जिल्लाको पश्चिम क्षेत्र बुर्तिवाङमा पाँच श्ययाको कोरोना अस्थायी अस्पताल सञ्चालनमा आएको छ। बिहीबारदेखि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पाँच श्ययाको अस्थायी कोरोना अस्पताल सञ्चालनमा आएको हो।  

अहिले स्थापना भएको अस्थायी कोरोना अस्पताललाई कोरोना महामारीपछि स्थानीय तहको अस्पतालमा परिणत गरिने बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा मिलन मल्लले बताए। स्वास्थ्य केन्द्रलाई देशकै नमूना बनाउने उद्देश्यले उपकरण तथा सेवा सुविधा थप्दै गएको उनले बताए। स्वास्थ्य केन्द्रका रुपमा भए पनि तत्कालै सरकारले अनुमति दिएमा १५ श्ययाको नगर अस्पताल बनाउनका लागि पूर्वाधार, जनशक्ति तथा उपकरण तयार रहेको छ। 

स्वास्थ्य केन्द्रमा हिमालय आँखा अस्पताल पोखराको प्राविधिक र उपकरण सहयोगमा आँखा जाँच सेवा र ढोरपाटन नगरपालिकाको सहयोगमा दन्त सेवासमेत शुरु गरिएको स्वास्थ्य केन्द्रले जनाएको छ। पश्चिम क्षेत्रका जनताले उपचारका नाममा धेरै समस्या भोगिरहेको समयमा नगरपालिकाले नगर अस्पताल बनाउने योजनाका साथ उपकरण तथा जनशक्ति थप गर्दै सेवा विस्तार गरिरहेको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले जानकारी दिए। अस्पतालमा हाल तीनजना मेडिकल अधिकृतसहित स्वास्थ्यकर्मी रहेका छन्। पछिल्लो समय अस्पतालले शल्यक्रियाबाटै प्रसूतिसमेत गराउन थालेको छ। 

स्थापना गरिएको कोरोना अस्पतालका लागि एक मेडिकल अधिकृत, दुई नर्स र एकजना कार्यालय सहयोगी राखिएको स्वास्थ्य केन्द्रका प्रमुख डा मल्लले जानकारी दिए। अस्थायी कोरोना अस्पतालका लागि नेपाल सरकारले रु पाँच लाख बराबरको औषधि तथा उपकरण र अस्पतालमा आवश्यक थप स्वास्थ्य सामग्रीका लागि पाँच लाख बजेट थप भएर आउन थालेको मल्लको भनाइ छ। 

प्राथमिक स्वास्थ्य केन्द्रमा सेवा थपिएपछि जनतालाई थप राहत मिल्ने अपेक्षा लिइएको छ। आँखाको उपचार र दन्त सेवा प्रवाहका लागि एक/एकजना प्राविधिकको व्यवस्था गरिएको छ।  केन्द्रमा बिहीबारदेखि नै २४ घण्टे ल्याब तथा एक्स–रे सेवा दिन थालिएको छ। केन्द्रको आइसोलेसनबाट हाल ५६ जना सङ्क्रमितले स्वास्थ्य लाभ गरी घर फर्केका छन्। 

अस्पतालमा हाल प्रसूति, शल्यक्रिया, इमेरजेन्सी सेवा, स्वास्थ्य बीमा कार्यक्रम, उपचार तथा औषधि वितरण, ल्याब सेवासहित ओपिडी सेवा, भिडियो एक्स–रे तथा एक्स–रे सेवा, शवपरीक्षण लगायतका सेवा प्रदान गरिँदै आएको छ। यसअघि लक्षण देखिएका सङ्क्रमितलाई धौलागिरि अस्पतालमा पठाउने गरिएको थियो। 

प्रकाशित मिति: : 2020-09-19 13:29:55

प्रतिकृया दिनुहोस्