अमेरिकी चुनावमा फेरि ‘राष्ट्रवादी–कार्ड’

संजोग आचार्य

न्युयोर्क

सन् २०१६ मा राष्ट्रवादको नारा बोकेर व्हाइट हाउस प्रवेश गरेका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोस्रो कार्यकालमा पनि यही नाराको याद आउन थालेको छ।  

जातीय विभेद, कोरोना भाइरसको प्रकोप र अमेरिकी मूल्य–मान्यताको हत्या गरेको आरोप विपक्षीबाट खेपिरहेका ट्रम्पले दोस्रो कार्यकालका लागि पनि राष्ट्रवादको हतियार अगाडि सार्ने पक्का भएको छ। 

अमेरिकी चुनाव ३ नोभेम्बरमा हुँदैछ। यसका लागि ट्रम्पका प्रतिस्पर्धी डेमोक्र्याट पार्टीका उम्मेदवार जो वाइडेन आक्रामक रूपमा प्रस्तुत भइरहेका छन्। तर, उनको चौतर्फी हमलालाई निस्तेज पार्ने अभियानमा रहेका ट्रम्प अन्त्यमा ‘राष्ट्रवादी–कार्ड’ प्रयोग गर्ने अभियानमा जुटेका छन्। 

गत शुक्रबार मात्र उनले यसको संकेत गरिसकेका छन्। राष्ट्रिय संग्रहालयमा आयोजना भएको एउटा कार्यक्रममा ट्रम्पले आफूलाई अमेरिकी मूल्य–मान्यताको रक्षक आफू मात्र भएको स्वघोषणा गरें। उनले भाषणका क्रममा आफू दोस्रो कार्यकालका लागि छनोट भए स्कुलको किताबमा राष्ट्रप्रेम र राष्ट्रवादको पढाई सुरु गर्ने घोषणा गरेका छन्।  

उनले भाषणका क्रममा बामपन्थी विचारधाराको कटु आलोचना गरें। उनले भने, ‘देशको स्कुलमा अब अमेरिकी विचारधारालाई समावेश गरिनेछ।’ उनले आफूविरूद्ध भ्रामक प्रचार–प्रसार भइरहेको पनि दावी गरेका छन्। 

उनले भनेका छन्, ‘म अमेरिकी स्कुलमा युवा पुस्तालाई भ्रम फैलाउने शिक्षाको विरूद्धमा छु। हाम्रो स्कुलहरूमा अमेरिकालाई जातीय विभेद भएको समाजको रूपमा प्रस्तुत गर्ने काम भइरहेको छ।’

उनले यसका लागि एउटा आयोग गठन गर्ने र उसको सिफारिसमा राष्ट्रवादी शिक्षालाई स्कुलसम्म पुर्‍याउने बताए। ट्रम्पको कार्यकालको अन्तिम वर्ष अमेरिकामा थुप्रैं शहरमा जातीय हिंसा भड्किएको छ। काला जातिले गरेको विद्रोहमा ऐतिहासिक स्थल र मुर्ति तोडफोडको घटना बाहिरियो।  

वाइडेनले यस विषयमा ट्रम्पको खुलेर आलोचना गरिसकेका छन्। उनले ट्रम्पलाई समाज बाड्ने राष्ट्रपतिको रूपमा चित्रणसमेत गरेका छन्। 

तर, ट्रम्पले भने आफूलाई जानीजानी बदनाम गर्न खोजिएको बताएका छन्। उनले हिंसा डेमोक्र्याटहरूको बाहुल्य भएको ठाउँमा भड्किएको र यसका लागि वाइडेनले मानिसहरूलाई उकासेको प्रतिक्रिया दिएका थिए। 

ट्रम्पले आफ्नो भाषणमा स्पष्ट पारेका छन्, ‘हामी राष्ट्रिय नायकलाई बिर्सन सक्दैनौं। हामी युवापीढीलाई आफ्नो देशलाई कसरी माया गरिन्छ, त्यो सिकाउने छौं।’

गत मे महिना मिनेपोलिसमा जातीय दंगा भड्किदा काला जातिका जर्ज फ्लोयडको एक गोरा प्रहरी अधिकारीबाट हत्या भएको थियो। यो घटनामा ४ पुलिस अधिकारीविरूद्ध अदालतमा मुद्धा चलिरहेको छ। 

फ्लोयडको घटनापछि पनि अन्य शहरमा प्रहरीद्धारा काला जातिमाथि आक्रमण भएको थियो। अहिले अमेरिकामा ‘ब्ल्याक लाइभ्स म्याटर’ भन्ने अभियान नै चलेको छ। यो अभियानअन्तर्गत देशको केही ठाउँमा प्रहरी र स्थानीयबीच झड्प हुँदा राज्यले करौडौं डलरको क्षति बेहोर्नुपरेको थियो। 

यो घटनापछि ट्रम्प निकै आक्रामक बनेका छन्। उनले डेमोक्र्याट पार्टीलाई बामपन्थी विचारधाराबाट प्रेरित भन्दै सार्वजनिक मञ्जबाट कटुआलोचना गरिरहेका छन्। 
संविधान दिवसको दिन उनले डेमोक्र्याटहरूलाई लक्षित गर्दै भनेका थिए, ‘एउटा कट्टरपन्थी आदोलनले हाम्रो मूल्य–मान्यताको धज्जी उडाएको छ। यो अमेरिकी परम्परालाई नस्ट गर्न चलाइएको अभियान हो।’

राष्ट्रिय संग्रहालयको भाषणमा पनि ट्रम्पले यही मुद्धा उठाएका थिए। उनी डेमोक्र्याटलाई लगातार बामपन्थी र माक्र्सवादी विचारधारासँग जोडेर आक्रमण गरिरहेका छन्। ट्रम्पले आइतबार मात्र भनेका छन्, ‘केही दिनअघि तपाईहरूले हिंसाको जुन रूप देख्नुभयो, यो बर्षोदेखि अभियानको रूपमा चलाइएको बामपन्थी विचारधाराको नतिजा हो। र, यो हाम्रो स्कुलदेखि नै सिकाउने गरिन्छ। अब समय आइसकेको छ, स्कुलमा आफ्नो देशको महान इतिहासको अध्ययन गराउने। युवाहरूलाई अमेरिकाको गर्वान्वित इतिहाससँग साक्षात्कार गराउने।’

ट्रम्पको घोषणा सुनेपछि अचम्मित भएका राइस विश्वविधालयका इतिहासकार प्रोफेसर डगलस ब्रिङ्कले यसलाई चुनावी हत्कण्डा बताएका छन्। उनले अमेरिकी स्कुलमा नागरिक अधिकार र इतिहासको बारेमा पहिलेदेखि नै पढाई भइरहेको जानकारी दिएका छन्। र, प्रश्न गरेका छन्–‘के ट्रम्प यसलाई परिवर्तन गर्न चाहन्छन्?’
प्रोफेसर डगलसले ट्रम्पको घोषणालाई ‘सांस्कृतिक युद्ध’ सँग जोडेका छन्। र, पुनः प्रश्न उठाएका छन्, ‘के ट्रम्प सांस्कृतिक युद्धको सहयोगले चुनाव जित्न खोजिरहेका छन्?’ उनले ट्रम्पलाई गोरा जातिको अधिकारको वकालत गर्ने राष्ट्रपतिको रूपमा चित्रण गरेका छन्।

उनको भनाई छ–ट्रम्पले धेरै ठाउँमा काला जाति वा हिस्पेनिस समुदायको योगदानको चर्चा गरेका छैनन्।

यस्तै, इतिहासका जानकार अर्का प्रोफेसर डा.फेरिसले पनि ट्रम्पको भनाईको खण्डन गरेका छन्। उनले ऐतिहासिक तथ्य र इतिहासको छानवीनका लागि छुट्टै आयोग बनाउने आवश्यकता नरहेको बताए। ‘पहिले देखि नै यहाँ नेशनल आर्काइब्स जस्ता संस्थान छन्। यिनीहरूलाई निकै कम सरकारी अनुदान प्राप्त हुन्छ। सरकारको सानो सहयोगका बाबजुद बरु यो संस्थाले राम्रो काम गरिरहेको छ।’

ट्रम्पले राष्ट्रिय नायकलाई सम्मान गर्ने कुरा उठाएपनि उनी त्यस्तो समारोहमा उपस्थित नहुने गरेको आरोप डेमोक्र्याटहरूले लगाउँदै आएका छन्। 

केही दिनअघि मात्र वासिङ्टनमा पूर्व राष्ट्रपति आइजनहावरको स्मारकमा विशेष कार्यक्रमको आयोजना भएको थियो। ट्रम्प यो कार्यक्रममा उपस्थित भएनन्। बरू उनी विस्किन्सनको चुनावी र्‍यालीमा सहभागी बनेका थिए। त्यसैले उनीविरूद्ध डेमोक्र्याटलाई आलोचना गर्ने अर्को मुद्धा मिलेको छ।  
 

प्रकाशित मिति: : 2020-09-21 09:36:41

प्रतिकृया दिनुहोस्