अमेरिकी न्यायाधीशले रोकिन् वीच्याट हटाउने ट्रम्पको आदेश

बिएल संवाददाता

न्यूयाेर्क

एप स्टोरबाट चिनियाँ स्वामित्वको म्यासेजिङ एप वीच्याट हटाउनुपर्ने आदेशमाथि एक अमेरिकी न्यायाधीशले रोक लगाइदिएकी छन्।

राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले एप्पल स्टोर र प्ले स्टोरलाई आइतबार अबेरसम्म सो एपलाई आफ्नो स्टोरबाट अमेरिकामा डाउनलोड गर्न नमिल्ने बनाउने आदेश दिएको थियो।

उनले अन्तिम समयमा कुनै सम्झौता नगरेमा शनिबारदेखि वीच्याट प्रतिबन्धित हुने बताएका थिए ।

यो एप्लिकेशनले प्रयोगकर्ताका जानकारीहरु चीनलाई उपलब्ध गराउने भन्दै चासो व्यक्त भएको हो। दुवै चिनियाँ कम्पनीले सो आरोप अस्वीकार गरेका छन् ।

तर, वीच्याट प्रयोगकर्ताको मुद्धामाथि सुनुवाइ गर्दै सान फ्रान्सिस्कोकी मेजिस्ट्रेट लउरेल बिलरले ट्रम्पको आदेशमाथि रोक लगाउने आदेश दिएकी हुन्।

उनले सरकारको आदेशले अमेरिकी संविधानको पहिलो संशोधनले प्रदान गरेको वाक स्वतन्त्रताको अधिकारलाई हनन गर्ने जनाउँदै आदेशमाथि रोक लगाएकी हुन्। अमेरिकामा विच्याटका १९ मिलियन सक्रिय प्रयोगकर्ता छन्।

अमेरिकी संविधानको पहिलो संशोधनले धार्मिक स्वतन्त्रता, वाक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, नागरिकको शान्तिपूर्ण प्रदर्शन गर्न पाउने अधिकार आदिका विरूद्ध त्यहाँको कंग्रेसले कुनै कानुन बनाउन नपाउने निश्चित गरेको छ।

प्रकाशित मिति: : 2020-09-21 13:16:40

प्रतिकृया दिनुहोस्