फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का एन्जल डी मारियामाथि चार खेलको प्रतिबन्ध लागेको छ।
सेप्टेम्बर १३ पीएसजीको घरेलु मैदानमै भएको खेलको अन्त्यतिर मार्सेइलीका खेलाडीसँगको विवादपछि रातो कार्ड पाएका डी मारियामाथि चार खेलको प्रतिबन्ध लागेको हो।
उक्त खेलमा अन्त्यतिर पीएसजीका तीन तथा मार्सेलीका दुई खेलाडीले रातो कार्ड खादै मैदानबाट बाहिरिएका थिए। पीएसजीका लेभिन कुर्जावा, लियान्द्रो पाराडेस र नेयमारले रातो कार्ड पाउदा मार्सेलीका जोर्डन एमाभी र डारियो बेनेडेट्टोले रातो कार्ड पाएका थिए।
खेलको ९७ औँ मिनेटमा उनीहरुलाई रातो कार्ड देखाइएको थियो। झगडामा भूमिका देखिएपछि ३२ वर्षका डी मारियालाई राताे कार्ड देखाइएकाे थियाे।
डी मारियाले मार्सेइलीका डिफेन्डर अल्भारो गोन्जालेजलाई थुकेको आरोप लागेको छ। तर, लिगले उनीमाथि लागेको प्रतिबन्ध थुकेकै कारण हो भन्ने पुष्टि गरेको छैन।
सो खेलको क्रममा भिएआर मार्फत हेरिएको थिएन। डी मारियाले सो खेलमा पूरै समय मैदानमा बिताएका थिए। सो खेलमा पिएसजी १–० ले पराजित भएको थियो।
नेयमारले मैदान छोड्ने क्रममा फोर्थ अफिसियललाई मार्सेइलीका डिफेन्डर अल्भारो गोन्जालेजले आफूमाथि रंगभेदी टिप्पणी भएको बताएका थिए।
यसलाई मध्यनजर गर्दै फ्रान्सेली फुटबलको प्रशासकीय निकायले आफूमाथि रंगभेदी व्यवहार भएको भन्ने नेयमारको आरोपको छानबिन गर्ने जनाएको छ।
उनले सामाजिक सञ्जाल मार्फत पनि सो आरोप लगाउँदै छानबिनका लागि माग गरेका थिए। अल्भारोले नेयमारले लगाएको आरोप अस्वीकार गरिसकेका छन्।
यता मार्सेइलीका प्रशिक्षकले रंगभेदी टिप्पणीका कारण घटना भएको जस्तो नलागेको तर त्यस्तो खालको टिप्पणीका लागि कुनै स्थान नरहेको बताएका थिए। उनले त्यसबारे अनुसन्धान गरिने बताएका छन्।
नेयमारसँगै रातो कार्ड पाएका अरु चार खेलाडीमाथि पनि प्रतिबन्ध लागेको छ। पीएसजीका डिफेन्डर लेविन कुर्जावालाई ६ खेलका लागि निलम्बित गरिएको छ।
यस्तै पीएसजीका लियान्ड्रो पारेडेस पनि दुई खेलका लागि प्रतिबन्धित भएका छन्। मार्सेइलीका जोर्डन एमावीले तीन खेलको निलम्बन पाएका छन् भने डारिओ बेनेडिट्टो एक खेलमा बाहिरै बस्नु पर्ने भएको छ।