‘मेल इन ब्यालेट’ मा अडिएको ट्रम्पको भविष्य (भिडियो)

संजोग आचार्य

न्युयोर्क

राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा रिपब्लिकन पार्टीले गत अगस्टमा नर्थ क्यारोलिनामा आफ्ना समर्थकलाई चम्किँलो खाममा एउटा चिट्ठी पठाएको थियो। 

यसका लागि पार्टीले २ दशमलव १३ लाख डलर खर्चिएको थियो। खाममा राष्ट्रपतिको फोटो र जरुरी सूचना संलग्न थियो। 

चिट्ठीमा ‘एब्सेन्टी ब्यालेट’ अर्थात अनुपस्थित मतपत्रको फर्म भर्न आफ्ना शुभचिन्तकहरूलाई पठाइएको थियो। फर्ममा उल्लेख थियो–‘के तपाईंहरू डेमोक्र्याटलाई बोल्न नसक्ने अवस्थामा पुर्याउन चाहनुहुन्छ?’ यसमा सबै रिपब्लिकन्सलाई सूचित गरिएको थियो, ‘मेल इन ब्यालेट’ प्राप्त गर्न फर्म भरेर पठाउनु होला।

यस्तै, अपीलसहितको फर्म जर्जिया, ओहियो, टेक्सास, विस्किन्सन र अन्य राज्यमा पनि पठाइएको थियो। विभिन्न राज्यमा रिपब्लिकन पार्टीको ‘एब्सेन्टी भोटर’ लाई प्रमोट गर्न पठाइएको यो अभियानमा लाखौं डलर खर्च भएको थियो। ट्रम्पको अभियानमा सबैलाई जोड्न ठूलो मात्रामा ‘टेक्स म्यासेज’ र ‘रोबो कल’ गरिएको थियो। 

‘मेल इन ब्यालेट’ तथा ‘एब्सेन्टी भोट’ लाई बलियो तुल्याउन पार्टीले अभियानको रूपमा थालेको त्यो कार्यलाई ट्रम्पले सुरुमा भेउ नै पाउन सकेनन्। 

उनले हरेक पल्ट ‘मेल इन भोटिङ’ को विषयमा नकरात्मक कुरा गरें। उनले मेलबाट भोट गर्दा मत यताउति पर्ने भन्दै मतदातालाई दिग्भ्रमित पार्न खोजे। यो कुरा उनले आफ्नो पकड भएको नर्थ क्यारोलिनासहित थुप्रै शहरमा चुनावी भाषणको बेला बोले। यसले उनको समर्थकलाई उल्टै डरको भावना श्रृजित भएको छ। विश्लेषकहरू ट्रम्पको ‘जहाँ पनि जे पनि बोल्ने’ बानीले रिपब्लिकन्सलाई चुनावी रणनीति बनाउन गाह्रो परिरहेको बताउँछन्। 

उनीहरू ट्रम्पको बढी बोल्ने बानीले ‘मेल इन ब्यालेट’ मा रिपब्लिकनहरूको अवस्था पहिले राम्रो भएपनि अहिले डेमोक्र्याटभन्दा पछाडि परेको बताउँछन्। 

उनले मेलको माध्यमबाट मत हाल्ने कुरामा आफ्नै समर्थकलाई डर देखाएको धेरैको गुनासो छ। यसै वर्ष राष्ट्रपतिको उम्मेदवारको नामाकंन पत्रमा ट्रम्पलाई चुनौति दिएका म्यासाच्युसेट्स राज्यका पूर्व गर्भनर र रिपब्लिकन नेता बिल वेल्डले भनेका छन्, ‘हामीले रिपब्लिकन पार्टीको भोट बढाउने अभियानका लागि त्यो काम गरेका थियौं। तर, राष्ट्रपतिले जथाभावी बोल्दा हाम्रो प्रयास फितलो बन्दै गइरहेको छ। यो कुरा राष्ट्रपतिले मनन गर्न सकिरहेका छैनन।’

इतिहासलाई पल्टाएर हेर्दा रिपब्लिकन पार्टीले सधै ‘एब्सेन्टी भोट’ मा कब्जा जमाएको छ। उनीहरू सुरुदेखि नै आफ्नो मतदाताको पहिचान गर्न केही न केही कार्यक्रम लागु गरिरहेका हुन्छन्। मेलबाट आफ्नो मतदाताको पहिचान गर्न लामो समयदेखि फ्लोरिडामा विशेष कार्यक्रम लागु हुँदै आइरहेको छ। 

रिपब्लिकनहरूले सन् १९८० देखि नै ‘एब्सेन्टी भोटर्स’ लाई आफूतर्फ आकर्षित गर्ने अभियान सञ्चालन गरिरहेका छन्। लामो समयदेखि रिपब्लिकन पार्टीसँग जोडिएका स्टिवेन्स स्टुअर्टले अमेरिकाबाट प्रकासित एक पत्रिकालाई आफ्नो अनुभव सुनाएका छन्, ‘मेल इन ब्यालेटको हकमा हामी रिपब्लिकन्सलाई सधै महसुस हुने कुरा भनेको हामी डेमोक्र्याटभन्दा राम्रो अवस्थामा छौं। यसको हामीले १९८० मा नेशनल रिपब्लिकन सेनोटोरियल कमेटी गठन गरेर सुरुवात गरिसकेका थियौं।’

स्टिवेन्सले एउटा किताब पनि लेखेका छन्। जसमा उनले ट्रम्प र पार्टी दुबैको अलोचना गरेका छन्। उनको दावी छ, ट्रम्प आफै चुनावी अभियानको घाँटी रेटिरहेका छन्। 

उनले भनेका छन्, ‘यदी ट्रम्प चुनाव हार्छन भने यसको सबैभन्दा ठूलो कारण मेल इन ब्यालेट हुनेछ। राष्ट्रपतिको बयानले उमेर पुगेका (बुढाबुढी) मतदातामा ठूलो भ्रम सिर्जना भएको छ।’

अमेरिकामा उमेर पुगेका धेरै बुढाबुढी लामो समयदेखि पार्टीसँग जोडिएका छन्। तर, कोरोनाको महामारीका कारण उनीहरू बाहिर निस्किन डराइरहेका छन्। चुनावको दिनपनि उनीहरू मतदान स्थलमा जाने सम्भावना न्यून छ। 

उनीहरू कोरोना संक्रमणका कारण मरिने डरका कारण घरबाट बाहिर निस्किन आँट गरिरहेका छैनन। यस्तो अवस्थामा सबैले मेलबाटै मतदान गर्ने हो। 

स्टिवेन्स भन्छन्, ‘यी बुढाबुढीले भोट नगर्ने हो भने ट्रम्पको पराजय निश्चित छ।’

केही विश्लेषकको भनाईमा अहिले डेमोक्र्याटहरू ‘मेल इन ब्यालेट’ लाई आफ्नो पक्षमा ल्याउन निकै खटिएका छन्। उनीहरू यसका लागि पहिले रिपब्लिकनलाई भोट गरिरहेका मानिसलाई पनि भेटिरहेका छन् र आफूलाई भोट गर्न प्रोत्साहित गरिरहेका छन्। 

नर्थ क्यारोलिनामा मात्र रिपब्लिकनको तुलनामा तीन पल्ट डेमोक्र्याटहरूले स्थानीय मतदातासँग भेट गरेको दावी गरिएको छ। १७ सेप्टेम्बरसम्म डेमोक्र्याटहरूले ८ लाख ८९ हजार मतदातासँग अनुरोध गरेका छन्। 

यसमा ४ लाख ४८ हजारले डेमोक्र्याटको पक्षमा मत जाहेर गरेको र १ लाख ५४ हजारले रिपब्लिकनको पक्षमा मत हाल्ने बताएको तथा बाँकी मतदाता मौन रहेको दावी गरिएको छ। 

‘मेल इन ब्यालेट’ मा अडिएको ट्रम्पको भविष्यhttps://t.co/UVXmS3DloP pic.twitter.com/26r2hqx9TL

— BL-News | Nepali (@breaknlinksnp) September 24, 2020
प्रकाशित मिति: : 2020-09-24 09:33:40

प्रतिकृया दिनुहोस्