विराटनगर जुट मिल्सको पर्खाल भत्किँदा एकजनाको मृत्यु

विराटनगर जुट मिल्सको पर्खाल भत्किँदा एक जनाको ज्यान गएको छ। जीर्ण अवस्थामा रहेको मिलको पर्खाल बिहीबार बिहान भत्किँदा विराटनगर महानगरपालिका- १५ की ५५ वर्षीय सम समेरून निसाको मृत्यु भएको प्रहरीले जनाएको छ।

निरन्तरको वर्षासँगै जुट मिल्सको हड्ताली हाटभित्र रहेको मजदुर लाइन क्वाटरको उत्तरतर्फको पर्खाल भत्किएको थियो। पर्खाल नजिकै कल थियो। पर्खालले कलमा पानी लिन पुगेकी निसालाई किचेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए।

वर्षौं पुरानो पर्खाल वर्षाका कारण भत्किएको हो। घर नजिकैको भवन छेउमा रहेको कलमा पानी लिन गएकी महिलालाई खुट्टा धुँदै गरेको अवस्थामा इँटाको गाह्रो लगाएर बनाइएको पर्खाल लडेर किचेको डीएसपी राईले बताए ।

बिहान १० बजे घटनामा परेर महिला गम्भीर घाइते भएकी थिइन्। उनको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा दिउँसो १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: : 2020-09-24 16:45:01

प्रतिकृया दिनुहोस्