कमब्याक जित निकाल्दै वायर्नले उचाल्याे युइएफए सुपर कपको उपाधि

कमब्याक जित निकाल्दै जर्मन क्लब वायर्न म्युनिखले युइएफए सुपर कपको उपाधि जितेको छ।

वायर्न च्याम्पियन्स लिगको च्याम्पियन तथा सेभिया युरोपा लिगको च्याम्पियनको हैसियतले युइएफए सुपरकप खेल्ने अवसर पाएको थियो।

पुस्कास एरिना बुढापेस्ट हंगेरीमा बिहीबार राति भएको खेलमा स्पेनिस क्लब सेभियामाथि अतिरिक्त समयमा २–१ को जित निकाल्दै वायर्नले सुपर कप उचालेकाे हो। 

वायर्नकाे लागि लियोन गोरेट्जका र जेभियर मार्टिनेजले गोल गरे। सेभियाका लुकास ओकम्पासको गोल सान्त्वना गाेल फर्काए। 

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुंगिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा वायर्नका जेभियर मार्टिनेजले गोल गर्दे च्याम्पियन बनाए।

सेभियाले खेलको १३औं मिनेटमा पेनाल्टी गोलमार्फत अग्रता लिएको थियो। इभान राकिटिचलाई पेनाल्टी बक्समा डेभिड अलावाले धकेलेपछि सेभियाले पेनाल्टी पाएकाे थियाे। 

प्राप्त पेनाल्टीमा ओकम्पासले गोल गर्दै सेभियालाई १–० को अग्रता दिलाए।

३४औं मिनेटमा वायर्नले खेलमा फर्कियाे। थोमस मुलरको क्रसमा गोरेट्जकाले जाली चुमाए। 

५१औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गरेपनि भिएआरबाट मान्यता पाएन।

त्यसपछि पनि दुवै टोलीले गोलको अवसरहरु खेर फाल्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो। 

१०४औँ मिनेटमा जेभियर मार्टिनेजले हेडरमार्फत गोल गर्दै वायर्नलाई २–१ को अग्रता दिलाए। त्यसपछि थप गोल हुन नसकदा वायर्न च्याम्पियन बन्न सफल भयो।

प्रकाशित मिति: : 2020-09-25 05:50:16

प्रतिकृया दिनुहोस्