अमेरिकामा २४ औं जनगणना, कति होलान नेपाली?

सन १७९० देखी सुरु भएर प्रत्येक १०-१० बर्षमा हुने (अपबादको रुपमा कुनै बर्ष नभएको) २४औँ जनगणना सयुंक्त राज्य अमेरिका मा भईरहेको छ। यसै महिना अर्थात सेप्टेम्बरको ३० तारिख समाप्त हुने यो कार्यक्रममा सबैले आफै अनलाइन, फोन वा हुलाकमार्फत आफ्नो विवरण दिन सक्ने छन। साथै आफै जनगणनामा सहभागी नभएकालाई गणना गर्नका लागि सरकार द्वारा कैयन गणकहरु खटाइएको छ। जनगणनामा जुनसुकै इमिग्रेशन स्टाटस भएका, कुनै पनि भिसामा भएकाहरु सहभागी हुन योग्य हुने र विद्यार्थीदेखि जोसुकै को पनि गणना गरिने अमेरिकी सरकारले बताएको छ। साथै उनीहरुको कुनै पनि विवरण अरु एजेन्सीलाई प्रदान नगरिने विश्वास पनि दिलाएको छ।

आजसम्म यो जनगणनामा सहभागी नभएकाले सबैभन्दा सजिलो अन लाइन को माध्यमद्वारा सहभागी हुनु उचित हुन्छ। यसको लागि माइ २०२० सेनसस डट जी ओ भी (my2020census.gov) मा गएर सबैले आफ्नो बिबरण भर्न सक्नेछन। तपाईंले भरेको बिबरण कति सत्य छ भनेर परिक्षण गर्न सेनससको कार्यालयबाट तपाईंलाई फोन आउँछ र तपाईंको विवरणको ‘क्रस चेक’ हुन्छ।  त्यसपछि मात्र तपाईंको विवरण आधिकारिक रुपमा सरकारी दस्ताबेजमा दर्ता हुन्छ।

अमेरिकामा झण्डै तीन लाख नेपाली र पाँच लाख नेपाली भाषी रहेको अनुमान गरिन्छ। जसमा भारतको केही भूभागका नेपालीभाषी, बर्माका नेपाली भाषी र भुटानका नेपाली भाषी समेत पर्छन। त्यस्तै एक लाख ग्रिनकार्डवाहक र ५० हजार अमेरिकी नागरिकता लिएका नेपाली रहेको अनुमान छ। यो जनगणनापछि ठ्याकै यतिको संख्यामा नेपाली अमेरिकामा बसोबास गरिरहेका छन् भनेर भन्न सकिन्छ। यसर्थ सबैले यो कार्यक्रममा सहभागिता जनाउन अत्यन्तै जरुरी छ।

जनगणनापछि अमेरिकी सरकारको दृष्टिमा नेपाली समुदाय यतिको संख्यामा रहेका छन् भनेर उपस्थिति जनाउन सफल हुने भएकोले सबैले यो कार्यक्रममा सहभागिता जनाउन पर्छ जस्तो पंक्तिकारको विचार छ। कतिले स्पष्ट जानकारी नभएर, कतिले हामीलाई के मतलब भनेर र कागजपत्र बिहिनहरुले कतै हाम्रो विवरण प्राप्त गर्यो भने देश निकाला गर्छ कि भन्ने डरले यो कार्यक्रममा सहभागी नभएको पाइएको छ। यो कार्यक्रम मा सहभागी हुना साथ् कसैले नगद पुरस्कार दिने त् होइन तर अमेरिकी सरकारको तर्फबाट नेपाली समुदाय प्रति गरिने कार्यक्रमको बजेट छुट्टाउन सजिलो हुनेछ। साथै कसैको पनि बिबरण जनगणनाको कार्य बाहेक अरु कार्यमा प्रयोग नगरिने र अन्य कुनै एजेन्सीलाई प्रदान नगरिने भनेर सरकारले नै भनिसकेको अबस्थामा कसैले पनि डराउनु पर्दैन। स्मरण रहोस अमेरिकी सरकारले सबै मान्छेको गोप्यता को सम्मान गर्दछ।

अत सबैले यो कार्यक्रममा सहभागिता जनाउन आवश्यक छ। यसले गर्दा समग्रमा नेपाली समुदाय कै हित हुन्छ। समुदायको हित हुनु भनेको अप्रत्क्ष रुपमा भएपनि व्यक्तिगत हित हुने हो। जनगणनामा सहभागिता जनाइसकेका नेपालीमुलका सबैलाई धन्यबाद सहित आजसम्म आफ्नो विवरण नदिनु भएका सबैले छिटोभन्दा छिटो माथी उल्लेखित वेब साइटमा गएर आफ्नो बिबरण दिनुहोला। यसबाट तपाईंलाई कुनै हानी नोक्सानी हुने छैन।

प्रकाशित मिति: : 2020-09-26 10:07:00

प्रतिकृया दिनुहोस्