इंग्लिस प्रिमियर लिग अन्तरगत शनिबार राति भएको खेलमा एभर्टनले लगातार तेस्रो जित निकालेको छ।
अवे मैदानमा भएकाे खेलमा एभर्टनले क्रिस्टल प्यालेसमाथि २-१ को जित दर्ता गरेको हो।
एभर्टनले खेलको दशौं मिनेटमा नै अग्रता लिएको थियो। फरवार्ड डोमिनिक काल्भर्ट लेविनले सिमस कोलमनको पासलाई सदुपयोग गर्दै गोल गरेका हुन्।
घरेलु टोली प्यालेसले २६औँ मिनेटमा खेल बराबरीमा ल्यायो। एन्द्रोस टाउनसेन्डको पासमा चिखु कोउआटेले गोल गरेपछि प्यालेस खेलमा फर्कियो।
पहिलो हाफको ५ मिनेट समय बाँकी रहँदा एभर्टनले पुन: अग्रता लियो। जोल वार्डको ह्यान्डबललाई रेफ्रीले भीएआरमार्फत पेनाल्टी दिएका थिए। उक्त पेनाल्टीमा रिचार्लीसनले गोल गर्दै अग्रता दिलाए।
दोस्रो हाफमा दुवै टोलीले गोलको प्रयास गरेपनि सफल हुन नसक्दा खेल एभर्टनले २–१ ले जित्यो।