जर्मन बुन्डेसलिगा अन्तर्गत आइतबार भएकाे खेलमा साविक विजेता वायर्न म्युनिखले लज्जास्पद हार व्यहोरेको छ।
अवे मैदानमा भएकाे खेलमा होफेनहाइमसँग ४-१ गोल अन्तरले पराजित हुँदै वायर्नले पहिलो हार व्यहोरेको हो।
होफेनहाइमलाई जित दिलाउन आन्द्रेज क्रमारीचले दुई गोल गरे। यस्तै इर्मिन बाइकाचिच र मुनास डाब्बुरले एक एक गोल गरे। वायर्नका जोसुवा किमिचले एक गोल फर्काए।
खेलकाे १६औँ मिनेटमै बाइकाचिचले गाेल गर्दै होफेनहाइमलाई अग्रता दिलाएका थिए। यता २६औँ मिनेटमा डाब्बुरले अग्रता दाेब्बर बनाए।
३६औँ मिनेटमा वार्यनले खेलमा फर्किने संकेत देखायाे। उसका लागि किमिचले एक गाेल फर्कायाे।
पहिलाे हाफ एक गाेलले पछाडि परेकाे वायर्नले दाेस्राे हाफमा प्रभावशाली खेल देखाउन सकेन।
फलस्वरुप ७७ र ९०औँ मिनेटमा क्रमारीचले दुई गोल गर्दै होफेनहाइमलाई स्पष्ट ३ अंक दिलाए। याेसँगै होफेनहाइम तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
लगातार दोस्रो जित निकालेको होफेनहाइमको २ खेलमा ६ अंक रहेको छ।
पराजित वायर्नको २ खेलमा ३ अंक रहेको छ।