लकडाउनमा गुपचुप रहेको एउटा विभत्स हत्या

प्रहरीको अपिल - फागुनदेखि चैतसम्म छोरी हराएको भए खबर गर्दिनुस्

गौरव पोखरेल

काठमाडौं

कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गरेको एक साता पुगेको थियो । त्यहीबेला गठ्ठाघर र बालकोटको सीमामा पर्ने हनुमन्ते खोला किनारमा युवतीको शव भेटियो ।

तर टाउको थिएन, हात-खुट्टाका पञ्जा काटिएका थिए । संवेदनशील अंग पनि विग्रिएका थिए । शवको प्रकृति हेर्दा हुलिया नखुलोस् र प्रहरीका लागि कुनै सुराक नबचोस् भनेर शव क्षतविक्षत पारिएको अनुमान लगाउन गाह्रो थिएन ।

हनुमन्ते करिडोर निर्माण भइरहेको ठाउँ क्लोज सर्किट (सीसी) क्यामरा पनि छैन । केही पर भएका क्यामराका फुटेज हेर्दा पनि प्रहरीले कुनै क्लू भेट्टाउन सकेन । सनाखत नभएपछि अनुसन्धानले समेत गति लिन सकेको छैन ।

हालसम्म घटनाबारे यकिन भएको एउटा मात्र हो, युवतीको विभत्स हत्या भएको छ ।

फरेन्सिक टोली भन्छ – १७-१९ वर्षकी युवती

अनुसन्धान अधिकृतले शवको प्रकृति हेरेर बलात्कारपछि हत्या भएको हुनसक्ने समेत आशंका गरेका छन् । तर शव सडिसकेको अवस्थामा भेटिएकाले यकिन विवरण पत्ता लगाउन समस्या भएको छ । फरेन्सिक विज्ञानले पनि मृत्युको कारण ‘अनडिटरमाइन्ड’ भन्दै शवको चोटपटकबारे मात्रै व्याख्या गरेको छ ।

फरेन्सिक विज्ञको टोलीले १७ देखि १९ वर्षकी महिलाको शव भएको भनेको छ । शव भेटिएको १० देखि १५ दिनअघि हत्या भएको हुनसक्ने आशंका गरेको छ ।

अपराधस्थलमा केही दिन शव राखेर मात्रै खोलामा फ्याँकिएको हुनसक्ने अनुमान गरिएको छ । ‘पहिल्यै ल्याएको भए, त्यहाँ आसपास काम गर्ने मजदुरहरुले शव देखिहाल्थे’, अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन् ।

घटनाबारे अनुसन्धान गरिरहेका अधिकृतहरुसँग रहेको अर्को सूचना भनेको युवती ५ फिट २.३ इञ्चकी छन् र निलो सुरुवाल र कलेजी रङको कुर्था लगाएकी छन् ।

प्रकाशित मिति: : 2020-09-29 12:57:57

प्रतिकृया दिनुहोस्