मृत्युपछि कोरोना देखिएका केन्द्रीय कारागारका कैदी रामलखन जैसवालको पोष्टमार्टम रिपोर्टमा कुनै अङ्ग झिकिएको नदेखिएको र चोटसमेत नभएको अधिकारीहरुले बताएका छन्।
केन्द्रीय कारागारका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाका अनुसार पोष्टमार्टमको प्रारम्भिक रिपोर्टमा ६३ वर्षीय जैसवालको आँखा, मृगौललगायत कुनै पनि अङ्ग नझिकिएको र चोटसमेत देखिएको छैन। प्रारम्भिक रिपोर्टमा हल्ला भएजस्तो केही पनि देखिएको छैन। अब भिसेरा रिपोर्ट आउन बाँकी छ।
रुपन्देही घर भएका जैसवाललाई असोज ३ राति १० बजेर ५५ मिनेटमा विर अस्पतालले मृतक घोषणा गरेको थियो। उनलाई अस्पताल पुर्याउनु अघि नै मृत्यु भएको वीर अस्पातलले जनाएको छ।
मृत्युपछि गरिएको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो। तर मृतकका आफन्तले कोरोना पोजेटिभ देखाएर जैसवालको आँखा, मृगौला झिकिएको आशंका गरेका थिए। त्यसपछि सरकारले कोरोना पोजेटेभि देखिए पनि जैसवालको पोष्टमार्टम गर्ने निर्णय गरेको थियो।
असोज ३ गत राति ९ बजे स्वास प्रश्वासमा समस्या देखिएपछि जैसवाललाई सुरुमा कारागारकै अस्पतालमा पुर्याएपछि वीरका लागि रिफर गरिएको थियो। विवादलाई साम्य पार्न जैसवाललाई उपचारका लागि कारागारबाट निकाल्दै गरेको अवस्थाको सिसिटिभी फुटेज पनि सार्वजनिक गरिएको थियो।
कर्तव्य ज्यान कसुरमा जन्मकैदको सजाय पाएका जैसवालमा लामो समयदेखि पार्किन्सन र ब्लेड प्रेसरको समस्या रहेको कारागारका अधिकारीले बताएका थिए।
केन्द्रीय कारागारले भिसेरा परीक्षणको रिपोर्ट नआउँदासम्म जैसवालको शव अस्पतालमै रहने बताए।
यसैबिच जेलर बाँस्कोटाले अब पीसीआर परीक्षण नभएका कैदीको मृत्यु भए उनीहरुको कोरोना परीक्षण नहुने बताए। ‘मृत्युअघि कोरोना परीक्षण नभएका कैदीबन्दीको सोझै पोष्टमार्टम हुन्छ तर कोरोना देखिएर मृत्यु भएको छ भने उनिहरुको पीसीआर परीक्षण हुन्छ’, उनले भने।