डिनर गर्न आएका भारतीय दम्पतिबीच हानाहान, हाेटेल सञ्चालकले छुट्याउन खाेज्दा लडेर मृत्यु

श्रीमान–श्रीमतीको झगडा छुट्याउन खोज्दा होटल सञ्चालकले धकेल्दा लडेर एक जनाको मृत्यु भएको छ। 

मोरङको उर्लाबारी नगरपालिका ७ मा रहेको युनिक होटलका सञ्चालक २६ वर्षीय गोपाल तामाङले धकेल्दा लडेर भारतको दार्जेलिङ घर भई उर्लाबारी बस्दै आएका सुशील मल्लिकको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार सुनका गहना बनाउने पेसा गर्दै आएका दम्पत्ती आइतबार साँझ उक्त होटलमा डिनरका लागि पुगेका थिए। 

डिनरअघि मदिरा सेवन गरेका दुईजनाबीच विवाद भएको थियो। राति तामाङले उनीहरूलाई भित्र झगडा नगर्न र बाहिर जान भने। 

उनीहरूले भनेको नमानेपछि तामाङले धकेलेर बाहिर पठाउन खोजे। त्यही क्रममा लडेका मल्लिकको टाउकोमा चोट लाग्यो र बेहोस भए। 

उनलाई तत्काले उर्लाबारीस्थित गोदावरी अस्पतालमा लगिएको थियो। तर, त्यहाँ उपचार सम्भव नभएपछि सोमबार बिहान ७ बजेतिर झापाको बी एण्ड सी अस्पताल लगिएको थियो। बीएण्डसीले उपचार गर्न नसक्ने बताएपछि भारतको सिलिगुडी लगिएको थियो।

मल्लिकको सोमबार भारतको सिलगुढीमा उपचारका क्रममा मृत्यु भएको एसपी खड्काले बताए।

‘प्रारम्भिक अनुसन्धानका क्रममा राति श्रीमतीसँगको विवाद गरेपछि तामाङ छुट्याउन गएको देखिन्छ,’ प्रहरी उपरीक्षक खड्काले भने, ‘तामाङसँग धकेला धकेल हुँदा मल्लिक लडेर बेहोस भएको देखिन्छ।’

घटनापछि इलाका प्रहरी कार्यालय उर्लाबारीले तामाङलाई नियन्त्रणमा लिएको छ। मल्लिकको शव नेपाल ल्याउन पहल भइहेको प्रहरी उपरीक्षक खड्काले बताए। यद्यपी मृतकका परिवारले उनको शव उतै पोष्टमार्टम गराउनु पर्ने माग राखेका छन्।

प्रकाशित मिति: : 2020-09-29 13:55:18

प्रतिकृया दिनुहोस्