पेनाल्टी सुटआउटमा टोटनह्यामसँग चेल्सी पराजित

कारवाओ कपको चौथो चरणको खेलमा टोटनह्यामले लन्डन क्लब चेल्सीलाई पराजित गरेको छ।

मंगलबार राति भएको खेलमा टोटनह्यामले पेनाल्टी सुटआउटमा चेल्सीमाथि ५–४ को जित हात पार्दै अघिल्लो चरणमा स्थान बनाएको हो। 

टोटनह्याम हस्टपर स्टेडियममा भएको खेलमा पाहुना टोली चेल्सीले खेलको १९औँ मिनेटमा टिमो वेर्नरको गोलबाट अग्रता लिएको थियो। 

कलुम हड्सन ओडोईले दिएको पासलाई एज्पिलिक्वेटाले दिएको क्रस पासलाई टिमोले पेनाल्टी बक्सभित्रबाट उत्कृष्ट फिनिस गरेका थिए।

८३औँ मिनेटमा इरिक लमेलाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए।सर्जियो रिगुइलोनको क्रस पासमा लमेलाले गोल गर्न सफल भएका थिए। त्यसपछि थप गोल निस्कन नसक्दा खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो।

अन्तिम पेनाल्टीमा चेल्सीका मासन माउन्ट चुक्दा टोटनह्यामका ह्यारी केनले निर्णायक गोल गरेका थिए।

पेनाल्टीमा टोटनह्यामका इरिक डाएर, इरिक लमेला, पिएर इमिल होजवर्ग, लुकाु मोउरा र ह्यारी केनले गोल गरे। चेल्सीका ट्याम्मी अब्राहम, सेसर एज्पिलिक्वेटा, जर्गिन्हो र इमर्सनले गोल गर्दा मासन माउन्टको प्रहारलाई ह्युगो लोरिसले बचाउदै टोटनह्यामलाई जित दिलाए।
 

प्रकाशित मिति: : 2020-09-30 06:25:00

प्रतिकृया दिनुहोस्